हिक्मतमाथि विश्वासको मतसम्बन्धी प्रस्ताव फेल गराउने कोशीका गठबन्धन दलको निर्णय

विराटनगर । कोशी प्रदेशसभाको तेस्रो अधिवेशन आव्हान भएसँगै विपक्षी गठबन्धनको बैठक बसेको छ ।

विश्वासको मत लिने प्रयोजनका लागि कोशी प्रदेशसभाको तेस्रो अधिवेशन असार १४ गतेलाई आव्हान भएपछि गठबन्धनका नेता छलफलमा जुटेका हुन् । विराटनगरमा बसेको गठबन्धन दलको बैठकले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको विश्वासको मतसम्बन्धी प्रस्ताव ‘फेल’ गराउने निर्णय गरेको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का कोशी प्रदेश संसदीय दलका नेता, प्रमुख सचेतक, सांसद तथा पार्टी नेतृत्वको संयुक्त बैठक बसेको हो ।

बैठकमा सहभागी नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीले ल्याउने विश्वासको मतसम्बन्धी प्रस्ताव फेल गराउने र गठबन्धन दलकै नेतृत्व र सहभागितामा नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकमा कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा, प्रमुख सचेतक भूपेन्द्र राई, सांसद केदार कार्की, कांग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवार, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, सांसद जीवन आचार्य र जसपा संसदीय दलका नेता निर्मला लिम्बूलगायत थिए ।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कार्की अल्पमतमा परेका छन् ।

अहिले कोशी प्रदेश सरकारलाई एमालेका ४० र राप्रपाका ६ सांसदको मात्रै समर्थन रहेको छ । ९३ सदस्य रहेको प्रदेश सभामा बहुमत पुर्‍याउन ४७ सीट आवश्यक पर्दछ ।

प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीको (सभामुखसहित) १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ सांसद गरी गठबन्धनको ४७ सीट छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *