बुटवलको नीति तथा कार्यक्रम- प्राथमिकतामा स्वास्थ्य र शिक्षा

रूपन्देही । बुटवल उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । १३औं नगरसभा अधिवेशनमा मेयर खेलराज पाण्डेयले पेश गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखिएको छ ।

३०२ वटा बुँदामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा बुटवलमा लगानी आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्ने, महिलालाई आत्मनिर्भर बनाउन गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन गर्ने, पर्यटकीय स्थलहरुको प्रबर्द्धन गर्दै बुटवललाई उपयुक्त विश्रामस्थलको रुपमा विकसित गर्ने, रात्रिकालीन बजार सञ्चालन गर्ने उल्लेख छ ।

‘समानता, स्वाभिमान र अवसर-बस्नयोग्य बुटवल शहर’ भन्ने दीर्घकालीन सोंचलाई अगाडि सारेको बुटवलले बुटवलको मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने, उज्यालो बुटवल, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत शहरको रुपमा विकास गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई मूख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिने, आधुनिक सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी शहरलाई जीवन्त बनाउने र सेवाप्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने रणनीति अबलम्बन गरिनेछ मेयर पाण्डेयले बताए ।

शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि नगरप्रमुख शैक्षिक विकास कार्यक्रम सञ्चालन गर्ने, सिद्धार्थ बाल तथा महिला अस्पतालमा पारामेडिकल, बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई) मा डिप्लोमा तहका इन्जिनियरिङ विषयहरु र अटो भिलेजमा स्नातकमा तहको अटो इन्जिनियरिङको अध्ययन सुरू गर्ने नीति कार्यक्रममा उल्लेख छ ।

यस्तै, बुटवल १३ र १७ मा १५।१५ सैयाका अस्पताल सञ्चालन गर्ने र वडा नम्बर १३ को अस्पतालमा अस्पतालमा चौबिसै घण्टा आकस्मिक सेवा सञ्चालन गरिनेछ । बुटवलबासीको उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थको शुल्क हटाउने, ज्येष्ठ नागरिकको घरमै पुगेर उपचार गर्न बाआमासँग नगरप्रमुख कार्यक्रम अघि सारिएको छ ।

बुटवलमा इरिक्सा र टेम्पुधनी तथा चालक रहेका एकल महिला, लैंगिक तथा यौनिक अल्पसंख्यकलाई प्रोत्साहन गर्न नवीकरणमा २५ प्रतिशत र महिला सवारी धनी र चालकलाई प्रोत्साहन गर्न नवीकरणमा १५ प्रतिशत छुट दिने नीति बुटवलले ल्याएको छ ।

लुम्बिनी बस टर्मिनललाई यात्रु सेवामैत्री बनाउन विद्युत, शुद्ध खानेपानी, व्यवस्थित खाजा घर, सफा शौचालय र स्नानघर, निःशुल्क वाईफाई, सुरक्षित विश्रामस्थल निर्माण गरी सुविधासम्पन्न बसपार्कको रूपमा विकास गर्ने कार्यक्रमलाई बुटवलले प्राथमिकतामा राखेको छ ।

उज्यालो बुटवल कार्यक्रमअन्तरगत मुख्य मुख्य चोकहरुमा हाइमास्ट लाईट तथा भित्री सडक र गल्लीहरुमा स्मार्ट स्ट्रिट लाईटको जडान गर्ने भनिएको छ ।

‘मेरो टोल म सफा गर्छु’, एक सामुदायिक वन-एक पोखरी, एक पार्क निर्माण, नगरलाई हरित शहरका रुपमा स्थापित गर्न एक घर तीन रुख, कृषिमा उत्पादकको मागः नगरको साथ, कृषि विकास, ‘के पाइन्छ होइन, के चाहिन्छ’ जस्ता नारा पनि समेटिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *