काठमाडौं । काठमाडौंको बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेज र जापानको आइम्याक इन्जिनियरिङ कम्पनी लिमिटेडबीच कलेजका विद्यार्थीलाई जापनामा इन्टर्नसीपको अवसर दिनेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतासँगै अब मोर्गन इन्टरनेसनल कलेजका विद्यार्थीले जापानमा इन्टर्नसीप गर्न पाउने भएका छन् । जसमा उनीहरुले महिनाको १६० घण्टा काम गर्न पाउने छन् ।
आइम्याक इन्जिनियरिङ जापानको टोकियोमा रहेको कम्पनी हो ।
मंगलबार कलेजमा आयोजित एक कार्यक्रममा क्याम्पस प्रमुख डा. दीपेन्द्र भण्डारी र आइम्याक इन्जिनियरिङ कम्पनी लिमिटेडका निर्देशक मासाकी ओसास्कीले इन्टर्नसीपसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
मोर्गन इन्टरनेसनल कलेजमा अध्ययन पूरा गरेका विद्यार्थीको दक्षता अभिवृद्धिमा योगदान पुगोस् भन्ने उद्देश्यले जापानमा इन्टर्नसीपको अवसर मिलाइएको क्याम्पस प्रमुख डा. दीपेन्द्र भण्डारीले बताए ।
त्यसैगरी, जापानमा रहेको युवा जनशक्तिको अभाव परिपूर्ति गर्नमा सहयोगी हुने भएकाले नेपाली विद्यार्थीहरुलाई इन्टर्नसीपको अवसर दिन लागिएको जापानी कम्पनी आइम्याक इन्जिनियरिङका निर्देशक मासाकी ओसास्कीले बताए ।
जापानका कम्पनीहरुलाई विदेशी जनशक्ति नियुक्त गर्न जापानिज् भाषा मुख्य अवरोधक रहेको र नेपालबाट इन्टर्नसीपमा लैजाने विद्यार्थीलाई कम्पनीले नै अनलाइन माध्यमबाट जापानिज भाषासहित अन्य क्षमता अभिवृद्धिमा सहयोग गर्ने ओसास्कीले बताए ।
जापानका कम्पनीमा इन्टर्नसीप सकेर नेपाल फर्कने विद्यार्थीले नेपालकोे सूचना प्रविधि, इन्जिनियरिङ र कर्पोरेट सेक्टरमा राम्रो योगदान गर्न सक्ने उनको भनाइ छ । मोर्गन कलेजसँगको सम्झौताले जापानमा युवा जनशक्तिको अभाव परिपूर्तिमासमेत सहयोग मिल्ने ओसास्कीले विश्वास व्यक्त गरे ।
पछिल्ला दिनमा जापानका कम्पनीहरुले युवा जनशक्ति अभावको समस्या झेलिरहेको र यो नेपाली विद्यार्थीका लागि रोजगारीको राम्रो अवसरसमेत भएको उनले बताए ।
सम्झौताअनुसार, मोर्गन इन्टरनेसनल कलेजमा अध्ययन सकेर इन्टर्नसीपका लागि जापान गएका विद्यार्थीहरुलाई आइम्याक इन्जिनियरिङ कम्पनीले इन द जब ट्रेनिङ (ओजेटी)को व्यवस्था मिलाउने छ । ओजेटीको अधिकतम समय ३ वर्षको हुने सम्झौतामा उल्लेख छ ।
नेपाली विद्यार्थीले ओजेटीको क्रममा पहिलो वर्षमा प्रतिघण्टा १३ सय जापानिज यन पाउनेछन् भने दोस्रो वर्षमा १३ सय ५० र तेस्रो वर्षमा १४ सय जापानी यन पाउने सम्झौतामा उल्लेख छ ।
विद्यार्थीहरुले एक महिनामा १६० घण्टासम्म काम गर्न पाउनेछन् । सम्झौताअनुसार, इन्टर्नसीपमा गएका नेपाली विद्यार्थीलाई पहिलो वर्षमै मासिक दुई लाख जापानी यनभन्दा बढी आम्दानीको सुविधा हुने क्याम्पस प्रमुख भण्डारीले बताए ।
मोर्गन इन्टरनेशन कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थीहरुले आइम्याक इन्जिनियरिङ कम्पनी लिमिटेडमा इन्टर्नसीपको आवेदन गरेपछि विद्यार्थीले पेस गरेको दस्तावेजको आधारमा विद्यार्र्थीको छनौट गरिने सम्झौतामा उल्लेख छ ।
त्यसरी छनौट गरिएका विद्यार्थीहरुलाई एक वर्षभित्रमा जापानमा काम गर्न लागि योग्य बनाइ प्रमाणपत्र दिएर इन्टर्नसीपमा लैजाने सम्झौतामा उल्लेख रहेको मोर्गन इन्टरनेसनल कलेजले बताएको छ ।
मोर्गन इन्टरनेसनल कलेजमा ब्याचलर इन कम्युटर एप्लिकेशन (बीसीए), ब्याचर अफ इन्फरमेशन म्यानेजमेण्ट (बीआइएम), ब्याचलर अफ सिभिल इञ्जिनियरिङ, ब्याचलर इन इलेक्ट्रिकल, एमएससी कस्ट्रक्सन म्याजेनमेन्ट, ब्याचलर इन होटल म्यानेजमेन्ट (बीएचएम) विषयको अध्यापन भइरहेको छ ।
त्यसैगरी, ब्याचलर अफ विजेनेश म्यानेजमेन्ट (बीबीएम), ब्याचलर अफ विजेनेश एडमिनिस्ट्रेशन (बीबीए), ब्याचलर अफ विजनेश स्टडिज (बीबीएस) र एमबीए लगायतका विषय मोर्गन इन्टरनेसनल कलेजमा अध्यापन भइरहेको छ ।

Leave a Reply