काठमाडौं । मनसुनजन्य विपद्बाट पछिल्लो एक साताको अवधिमा मात्रै विभिन्न जिल्लामा गरेर १३ जनाको मृत्यु भएको छ । यसै अवधिमा २६ जना बेपत्ता भएका छन भने ८ जना घाइते भएका छन् । जेठ ३१ गतेदेखि असार आजसम्म मनसुनजन्य विपद्बाट ४१ घरमा पूर्ण क्षति भएको छ भने सात घरमा आंशिक क्षति पुगेको छ ।
बिहीवार राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा भएको छलफलमा भाग लिँदै गृहमन्त्रालयका निमित्त सचिव एवम विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव महादेव पन्थका अनुसार सबैभन्दा बढी ताप्लेजुङको पहिरोमा परेर तीन जना, पाँचथरको बाढीमा तीन जनाको मृत्यु भएको छ ।
यस्तै संखुवासभामा बाढी र पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ भने तनहुँमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको पन्थले जानकारी गराए । यस्तै भोजपुरको बाढीमा एक जना, नुवाकोटको पहिरोमा एक जना र गोरखाको पहिरोमा एक जनाको मृत्यु भएको छ ।
निमित्त सचिव पन्थका अनुसार संखुवासभाको बाढी र पहिरोमा परेर सबैभन्दा बढी २० जना बेपत्ता रहेका छन् भने ताप्लेजुङको पहिरोमा तीन जना, पाँचथरको बाढीमा तीन जना, बेपत्ता रहेका छन् । यस्तै संखुवासभाको बाढी र पहिरोमा परेर तीन जना, ताप्लेजुङको पहिरोमा तीन जना, पाँचथरको बाढीमा एक जना र तनहुँको पहिरोमा एक जना घाइते भएका छन् ।
यस्तै संखुवासभाको बाढी र पहिरोमा १२ वटा घर पूर्णरुपमा क्षति भएको छ भने तीन वटा घर आंशिक क्षती भएको छ । पाँचथरमा १६ घरमा पूर्ण क्षति पुगेको छ भने चार वटा घरमा आंशिक क्षति पुगेको छ । ताप्लेजु«मा पनि ११ घर पूर्णरुपमा क्षति भएको छ भने इलामको एक घरमा पुर्ण क्षति भएको छ ।

Leave a Reply