हर्क साम्पाङले गफाडी भनेपछि पर्यटन मन्त्री किराँतीको जवाफ- बजेट अभाव हुनगयो, ५० लाख छुट्टाइएको छ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पर्यटन मन्त्री सुदन किराँतीलाई गफाडी भनेपछि फेसबुकबाटै जवाफ फर्काएका छन्।

मेयर साम्पाङले पर्यटन मन्त्री किराँतीले आफूले बोलेको वाचा पूरा नगरेको भन्दै फेसबुकमा लेखेका थिए।

उनले लेखेका छन्, ‘सुदन किराँती पनि गफाडी रैछन् ! श्रम संस्कृति पद मार्ग निर्माणको बाचा गरेका थिए पुराएनन् ! बोलेको पूरा गर्नु है ! बिरुवा रोप्न चाहिँ आउँदा हुन्छ ! वेल्कम छ ! बधाई छ जे होस् ! जय पितापूर्खा !’

मेयर साम्पाङले बोलेका बाचा पूरा नगरेको आरोप लगाएपछि मन्त्री किराँतीले फुफ्रेबाट साँगुरी भन्ज्याङ्ग भेडेटार पदमार्ग निर्माणको लागि ५० लाख विनियोजन भएको जानकारी गराएका छन्।

उनले साम्पाङलाई जवाफ दिँदै भनेका छन्, ‘हुन त हामीले एक करोड पचास लाखको प्रस्ताव गरी अर्थ मन्त्रालय पठाएका थियौँ । सायद बजेट अभावको कारण त्यस्तै हुन गयो होला ।’

उनले यो पदमार्गको नाम तराई मधेश एकता पदमार्ग राख्न मन भएको उल्लेख गर्दै पूर्खाले जीवनको लागि नुन तेल ढाकर बोक्दा पसिना बगाएका बताएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *