काठमाडौं। जिम्बावेमा जारी विश्वकप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मङ्गलवार अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ। पहिलो खेलमा टेस्ट मान्यताप्राप्त जिम्बावेसँग ८ विकेटले पराजित भएको नेपालका लागि सुपर सिक्सको यात्राका लागि अमेरिकासँगको खेल महत्त्वपूर्ण मानिएको छ।
जिम्बावेसँग भिड्नुअघि नेपालले खेलेका पछिल्ला १४ एकदिवशीय अन्तर्राष्ट्रिय खेलमध्ये एउटामा मात्र हार बेहोरेको थियो।
त्यसमध्ये आईसीसी वर्ल्ड क्रिकेट लिग-२ विजेता स्कटल्यान्डसँग २, यूएईसँग ४, पपुआ न्युगिनीसँग ४, नामिबियासँग २ र ओमानसँग एक खेल जितेको थियो। यूएईसँग एक खेल हारेको थियो।
विश्वकप लिग-२ का पछिल्ला १२ मध्ये ११ खेल जितेर नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता कायमै राखेको थियो भने जारी विश्वकप छनोटमा पनि स्थान पक्का गरेको थियो।
गत अप्रिलको अन्तिम साता घरेलु मैदानमा आयोजना भएको एसीसी प्रिमियर कप नेपालले एक खेल नहारी जितेको थियो। त्यस क्रममा समूहगत चरणमा ओमान र फाइनलमा यूएईलाई हराएको थियो।
अमेरिका र नेपालबीच भएका पछिल्ला ५ एकदिवशीय खेलमा दुवै टोलीले २/२ जित हात पारेका छन् भने एक खेल रद्द भएको थियो। तर अमेरिकासँग भएका पछिल्ला तीन भिडन्तमा नेपालले जित हात पार्न सकेको छैन। दुई खेलमा अमेरिका विजयी भएको थियो भने एक खेल रद्द भएको थियो।
जारी छनोट प्रतियोगितामा अमेरिका पनि पहिलो खेलमा पराजित भएको थियो। उसले वेस्ट इन्डिजसँग हार बेहोरेको थियो।
५ टोली रहेको समूहमा नेपालले टेस्ट मान्यताप्राप्त वेस्ट इन्डिज र एसोसिएट नेदरल्यान्ड्ससँग पनि प्रतिस्पर्धा गर्ने छ। समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन्।

Leave a Reply