धनुषाका एसपी खड्काविरुद्ध एमालेको प्रदर्शन, पूर्व मन्त्री अरगरिया पनि सहभागी

जनकपुरधाम । धनुषाका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्का विरुद्ध नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू आज प्रदर्शन गरेका छन् ।

भ्रष्टाचारमा लिप्त शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्माको संरक्षणमा लागेको भन्दै एमालेले एसपी खड्काविरुद्ध प्रदर्शन गरेको हो ‌। एमालेका नेता कार्यकर्ताहरू जनकपुरधामस्थित जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै एसपी खड्का र शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्मा विरुद्ध प्रदर्शन गरे ।

प्रदर्शनको नेतृत्व पूर्व मन्त्री तथा एमाले केन्द्रीय सदस्य उमाशंकर अरगरियाले गरेका थिए । उनले भ्रष्टाचारी र भ्रष्टाचारीको संरक्षक विरुद्ध प्रदर्शन गरेको बताए ।

शुक्रवार दिउँसो युवाहरूको एक समूहले शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्मालाई कालो मोसो दलेका थिए । उक्त घटनामा संलग्नहरुमाथि कारबाही गर्ने तयारी प्रहरीले गरेपछि एमालेले एसपी विरुद्ध प्रदर्शन गरेको बुझिएको छ ।

शिक्षक सरुवा, पदस्थापन, शिक्षक नियुक्ति लगायतको काममा शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्माले घुस खाएको भन्दै उनलाई युवाहरूको समूहले कालो मोसो दलेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *