७० वर्षे उमेरहद हटाउने निर्णयबारे ओलीको स्पष्टीकरण- उपयोगी नभएपछि हटाइयो (भिडिओ)

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपयोगी नभएकाले आफ्नो पार्टीले पनि ७० वर्षको उमेरहद हटाउने निर्णय गर्नु परेको बताएका छन् ।

७० वर्ष माथिकोले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोड्नुपर्ने अप्ठ्यारो अवस्था आएको, कतिपय अन्य पार्टीबाट आएका नेताहरूलाई पनि जिम्मेवारी दिनुपर्ने भएकाले त्यो उमेरहद हटाउने निर्णय गर्नु परेको ओलीको स्पष्टीकरण थियो ।

अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिवार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चीनलगायतका दुनियाँका सबै पार्टीहरूले परित्याग गरिसकेको ७० वर्षे उमेरहद हटाउने निर्णय एमालेले गर्दा त्यसको विरोध गर्न आवश्यक नभएको बताए ।

केहीले पार्टीको सो निर्णयको विरोध गरेर अराजनीतिक कुरा गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले पार्टीका युवाहरूलाई ७० वर्ष कटेकाहरूसँग प्रतिस्पर्धा गरेर महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव बन्न कसले रोकेको छ ? भनी प्रश्न समेत गरे ।

उनले काम गर्न सक्नेलाई उमेरहदको नाममा जिम्मेवारीबाट रोक्नुपर्ने कुनै कारण नरहेको पनि पटक पटक दोहोर्‍याए ।

उनले भने, ‘अव थुप्रै साथीहरू यो ७० वर्ष छ भनेपछि हच्किएका हुन्छन् । कामै गर्न नपाउने ७० वर्ष पुगेपछि । राजनीति नै छोड्नुपर्ने स्थिति, कमिटी नै छोड्नुपर्ने स्थिति भएपछि यो ७० वर्ष अप्ठ्यारो भयो । कतिपय साथीहरूलाई आउन, उहाँहरूलाई एकजष्ट गर्न, उहाँहरूलाई जिम्मेवारी दिन पनि हामीले ७० वर्ष हटाई दिन पर्‍यो । ७० वर्ष कहीँपनि छैन दुनियाँमा । अमेरिकामा छ । ८० वर्षको मान्छेले राष्ट्रपति चलाई राखेको छ । अनि, शेरबहादुर देउवाजी ७७, ७८ कति वर्ष हो ? चलाई राख्नु भएको छ । कतै पनि छैन ७० । हाम्रोमा हामीले राखेका थियौँ । हामीलाई पनि उपयुक्त भएन । यसले प्रगति गर्न अप्ठ्यारो पार्‍यो । त्यस कारण हामीले हटाउने भन्यौँ । यसमा फेरी हाम्रा साथीहरू किन यो ७० हटाउने कुरा भएन के ? ए बाबा, चुनाव लड्नुस् न आउँदो महाधिवेशनमा । हुनुस् न अध्यक्ष कसलाई मन लाग्छ । उपाध्यक्ष, महासचिव हुनुस् । झन् राम्रो भयो नि त ७० वर्ष पुगेकाले पनि पाउने भए त । राम्रै भयो त । सबैले लड्न पाउने भए । अनि किन आपत्ति जनाएको ? दौडिनुस् । यति वर्ष भन्दामाथिकालाई दौडन दिन्न किन भन्ने ? ७० का सँग दौडनुस् ।

ओलीले २०८४ सालको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने मिसन लिएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने गरी वडा वडामा गएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

ओलीले देश विरोधी शक्तिहरू एमालेको विरुद्धमा लागि परेको आरोप समेत लगाए ।

Comments

One response to “७० वर्षे उमेरहद हटाउने निर्णयबारे ओलीको स्पष्टीकरण- उपयोगी नभएपछि हटाइयो (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    ४० वर्षदेखि पार्टी कब्जा गरेको प्रचण्डको कुरा हुँदैन, ८० नाघेको देउवा अझै दुई कार्यकाल खान लागेको विषयमा कुरै हुदैन । दलालहरू ओलिलाई पन्छाउँला भन्ठानेका अझै नेता भैरहने भए भनेर दलाली गर्छन । एमालेले ठिक निर्णय गर्यो । ओलिको नेतृत्व अझै १५ वर्ष आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *