पार्टी एउटै, मन्त्रालय एउटै- मन्त्री र राज्यमन्त्रीबीच पानी बाराबार, दुई महिनादेखि बोलचाल बन्द

काठमाडौं । भावनात्मक अभिव्यक्ति र केही गर्ने हुटहुटी देखाएका कारण चर्चामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती आफ्नै मन्त्रालयमा भने सर्वस्वीकार्य हुन असफल भएका छन् ।

सत्ता गठबन्धनकै एक घटक नेकपा एसका नेता तथा पूर्व पर्यटनमन्त्री प्रेम आलेले संसदबाटै ‘स्टन्ट मन्त्री’ भनेर विभिन्न काण्डमा आरोपित गरेलगत्तै बारुदको पहाडमा बसेर सलाइ नकोर्न चेतावनी दिएका किराँतीसँग उनकै राज्यमन्त्री समेत संवादहीनताको अवस्थामा छिन् ।

पर्यटनमन्त्री किराँती र राज्यमन्त्री सुशीला श्रीर्पालीबीच दुई महिनादेखि बोलचाल बन्द भएको छ । मन्त्रालयमा कार्यरत कर्मचारीलाई सरुवा गर्ने विषयमा कुरा नमिलेपछि उनीहरुबीच बोलचाल बन्द भएको हो । मन्त्री किराँती र राज्यमन्त्री श्रीपाली दुबैजना माओवादी पार्टीका नेता हुन् ।

राज्यमन्त्री श्रीर्पालीले राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिवसम्म सरुवा गर्ने अधिकार माग्दा मन्त्री किराँतीले उक्त अधिकार नदिएपछि उनीहरुबीच बोलचाल बन्द भएको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्री किराँतीले राज्यमन्त्री श्रीर्पालीलाई सहसचिवसम्म पदस्थापन गर्ने अधिकार मात्रै दिएका छन् ।

पर्यटनमन्त्री किराँतीले मन्त्रालयमा आन्तरिक कर्मचारी सरुवामा पनि राज्यमन्त्रीलाई बाइपास गर्ने र हेपाहा चरित्र देखाएको भन्दै श्रीपालीले आक्रोश व्यक्त गरेककी छन् । उनले यसबारेमा पार्टीका नेतृत्व र प्रधानमन्त्रीलाई समेत जानकारी गराइसकेको निकट स्रोतले जनाएको छ ।

मन्त्रीले राज्यमन्त्री र सचिवलाई हेपाहा व्यवहार देखाउँने र विवाद मिलाउनुको साटो पेलेरै जान खोजेपछि यो विषय पार्टीसम्म पुगेको बताइएको छ ।

राज्यमन्त्रीलाई गाडी समेत पूरानै दिइएको छ । बाहिर जिल्लाहरुमा जान समेत मिल्ने खालको गाडी माग गर्दा मन्त्री किराँतीको अनुमति नरहेको भन्दै मन्त्रालयका सचिव सुरेश अधिकारीले आलटाल गर्दै आएका छन् । उनले मन्त्री र सचिवले आफ्नो अपमान गरेको र दलित भएका कारण हेपेको गुनासो गर्दै आएकी छन् ।

मन्त्री र राज्यमन्त्रीको चेपुवामा परेका सचिव अधिकारीले भने सरुवा खोजेका छन् । तर मन्त्री किराँतीले उनको सरुवा रोकेको स्रोतले जनाएको छ ।

मन्त्री किराँती र राज्यमन्त्री श्रीर्पालीविच दुई महिनादेखि बोलचाल नभएको दुवैजनाको सचिवालयले पुष्टि गरेको छ । मन्त्रालयमा आयोजना हुने मन्त्रीसहितको कार्यक्रममा राज्यमन्त्री र राज्यमन्त्रीसहितको कार्यक्रममा मन्त्री अनुपस्थित हुने गरेका छन् ।

मन्त्री र राज्यमन्त्रीको विवादबारे सचिव सुरेश अधिकारीले भने आफूले कामका सन्दर्भमा त्यस्तो कुनै जानकारीन पाएको बताए । उनले आफ्नो सरुवाको कुरा मन्त्रिपरिषद्को विषय भएकाले यसबारेमा चासो नरहेको प्रतिक्रिया दिए ।

Comments

One response to “पार्टी एउटै, मन्त्रालय एउटै- मन्त्री र राज्यमन्त्रीबीच पानी बाराबार, दुई महिनादेखि बोलचाल बन्द”

  1. ksp pyl Avatar
    ksp pyl

    सरूवाबाट पाइने दामको झगडा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *