समयमा कार्यालय अनुपस्थित सामान्य मन्त्रालयका १०३ जना कर्मचारी कारबाहीमा

काठमाडौं । समयमा कार्यालय उपस्थित नभएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १०३ जना कर्मचारी कारबाहीमा परेका छन् ।

मन्त्री अमनलाल मोदीको निर्देशनमा सचिव डा. कृष्णहरि पुष्करले सोमबार मन्त्रालयमा छड्के जाँच गरेका थिए । सोही क्रममा बिहान १०ः१५ बजेसम्म पनि कार्यालयमा उपस्थित नभएका कर्मचारी कारबाहीमा परेका हुन् ।

कारबाहीमा परेका कर्मचारीको सोमबारको हाजिरीमा रातो लगाइएको छ । सचिव डा. पुस्करले ती कर्मचारीको हाजिरीमा रातो लगाएका हुन् । कारबाहीमा पर्नेमा सहसचिव १ र उपसचिव २३ जना रहेका छन् ।

त्यसैगरी ३६ शाखा अधिकृत र ४१ जना नायब सुब्बा तथा सहायकस्तरका कर्मचारी कारबाहीमा परेका छन् ।

मन्त्रालयका कर्मचारीमाथि कारबाही गरेपछि मन्त्री मोदीले भने, ‘सुशासन कायम गर्ने विषय नै हाम्रो पहिलो प्राथमिकता हो । बिहान सवा १० बजेसम्म पनि कार्यालयमा उपस्थित नभएका कर्मचारीको हाजिरीमा रातो लगाउन थालेका छौं, यो प्रक्रिया जारी रहन्छ ।’

अतिरिक्तका उपसचिवको जिससमा सरुवा

यसैबीच मन्त्रालयको अतिरिक्त समूहमा रहेका १८ जना उपसचिवको सरुवा भएको छ । अतिरिक्तमा रहेका १८ जना उपसचिवमध्ये ५ जनाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । बाँकी सबैको विभिन्न जिल्लास्थित जिल्ला समन्वय समितिमा सरुवा भएको छ ।

मन्त्री मोदीले नियमित र बढुवा प्रक्रियामा आएका शाखा अधिकृत र उपसचिवलाई अनिवार्य रुपमा स्थानीय तहमा खटाउँदै आएका छन् । स्थानीय तहको निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउने अभियानलाई तीव्रता दिइरहेका मन्त्री मोदीले अतिरिक्त समूहका कर्मचारीलाई पनि प्रदेश तथा स्थानीय तहमा खटाउन थालेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *