दूतावासको ताकेता लत्याउँदै नेपाली युवा धमाधम रुसी फौजमा ! (भिडिओ)

काठमाडौं । आइतबार नेपाल प्रेसले रुसी फौजमा नेपाली युवाहरुको प्रवेश भएको तथ्य सार्वजनिक गरेको थियो । यससँगै रुसी फौजमा नेपाली युवाहरुको प्रवेशबारे थप तथ्यहरु सतहमा आएका छन् ।

पर्यटक र विद्यार्थी बनेर रुस पुगेका नेपालीहरु फौजमा भर्ना भएको तथ्य सतहमा आएको हो । जुन तथ्य मस्कोस्थित नेपाली दूतावासकै सूचनाबाट पुष्टि हुन्छ । नेपाली दूतावासले २०७९ भदौ २८ गते एक ‘जरुरी सूचना’ सार्वजनिक गरेको थियो । दूतावासका द्वितीय सचिव सुशील घिमिरे र सहचारी राजकुमार बस्नेतको फोन नम्बरसहित सार्वजनिक भएको सूचनाले रुसमा नेपालीहरुको अस्वाभाविक प्रवेशलाई संकेत गरेको छ । रुसले सन् २०२२ फेबु्रअरी २४ मा युक्रेनमा सैन्य हमला गरेसँगै रुसमा नेपालीहरु विद्यार्थीको रुपमा उल्लेख्य बढेको त्यसमा संकेत गरिएको हो ।

सूचनामा भनिएको छ, ‘रुसी महासंघस्थित विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षा हासिल गर्न आउने नेपाली विद्यार्थीहरुको संख्या पछिल्लो केही महिनादेखि बढिरहेको जानकारी विभिन्न माध्यमबाट यस राजदूतावासमा प्राप्त भएको छ ।’

नेपाली युवाहरु विद्यार्थीको रुपमा मात्रै नरहेर सैन्य क्षेत्रमा समेत जान सक्नेतर्फ संकेत गर्दै दूतावासले भनेको थियाे, ‘विद्यार्थी भिसामा रुसी महासंघ आउँदा अध्ययनबाहेक अन्य कुनै प्रकारको आश्वासन प्रलोभनमा नपर्नु हुन सम्बन्धित सबै नेपाली विद्यार्थी तथा अभिभावकहरुलाई हार्दिक अपिल गर्दछौं ।’

नौ महिना अगाडि यस्तो अपिल गरेको दूतावासका द्वितीय सचिव घिमिरेले नेपाल प्रेससँगको कुराकानीमा भने रुसका नियमित सेनामा नेपालीहरु पुगेको कुनै जानकारी नभए पनि मर्सिनरीमा गएको हुनसक्ने बताएका थिए ।

‘तालिममा बस्दा तीस हजार, तालिमपछि लाख तलब’

नेपाल प्रेसलाई प्राप्त एक डकुमेन्टअनुसार रुसी फौजमा जोडिएका नेपाली युवाहरुले महिनाको तीस हजार रुबल पाउँछन् । तालिम दुई महिना हुन्छ । तालिम सकिएपछि एक लाख रुबल आउने उनीहरुको भनाइ छ । अहिलेको सटही दरअनुसार एक रुबल बराबर एक रुपैयाँ ६० पैसा नेपाली रुपैयाँ छ । जसअनुसार तालिमका दौरानमा नेपाली युवाहरुले प्रतिमहिना ४८ हजार रुपैयाँ पाउँदै आएका छन् ।

रुसीसँगै युक्रेनी फौजमा पनि नेपाली युवा

गत मे १६ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक ऐनलाई प्रमाणीकरण गरे । जसमा रुसी फौजमा सहभागी भएको एक वर्षमा त्यहाँको नागरिकता पाउने प्रावधान छ । त्यही लोभमा धेरै नेपाली अहिले रुसी फौजमा जोडिएका तथ्यहरु सतहमा आएका छन् ।

सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमा हमला गरेको थियो । हमला भएको दुई हप्ता नपुग्दै युरोपको एक सञ्चार संस्था रेडियो फ्री यूरोप/रेडियो लिबर्टीले एक समाचार प्रकाशन गर्‍यो । समाचारमा युक्रेनमा रहेको नेपाली प्रताप बस्नेतले आफूले काम छोडेर युक्रेनको पक्षमा युद्ध लड्ने उद्घोष गरेका थिए ।

बस्नेतले भिडियोमा भनेका थिए, ‘मलाई धेरै गर्व लागेको छ कि मैले युक्रेनको पक्षमा उभिने निर्णय लिएँ । यो भूमि युक्रेनको हो । रुसलाई युक्रेनले लिने निर्णयमा हस्तक्षेप गर्ने केही अधिकार छैन ।’

उनले युक्रेनको पक्षमा आफ्नो सैन्य सहयोग हुनेबारेमा भिडियोमा भनेका छन्, ‘म युक्रेनको लागि केही राम्रो गर्न चाहन्छु । किनभने म युक्रेनमा काम गर्थें । मैले युक्रेनबाटै गाँसबास पाउँथें । त्यसैले युक्रेनलाई आवश्यक परेको बेलामा मैले युक्रेनी सेनामा भर्ना भएर सहयोग गर्नु मेरो दायित्व हो ।’

बस्नेतको युक्रेनको पक्षमा लड्ने निर्णयमा पूर्वप्रधानमन्त्री एवं सत्ताधारी गठबन्धनको एक घटक नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समर्थनमा ट्विटसमेत गरेका थिए ।

रेडियो फ्री यूरोप/रेडियो लिबर्टीको समाचार शेयर गर्दै भट्टराईले अंग्रेजी ट्विट गर्दै भनेका थिए, ‘आफ्नो हातमुख जोड्न युक्रेनमा काम गर्ने यी नेपाली युवालाई रुसी हमलाविरुद्ध युक्रेनको पक्षमा लडेकोमा सलाम छ । नेपाल र नेपाली जनता सधैं शान्ति र न्यायको पक्षमा उभिन्छन् । र, अन्यायी युद्धको विरुद्ध युद्ध गर्न संकोच मान्दैनन् ।’

युक्रेनको पक्षमा युद्धमा लाग्ने उद्घोष गर्ने एक युवाको पक्षमा बोलेका भट्टराईले रुसको पक्षमा सयौं संख्यामा लड्न पुगेका नेपालीहरुको बारेमा भने मौनता साँधेका छन् ।

याे पनि पढ्नुस् : युक्रेन युद्धसँगै सैनिक भर्तीबारे पुटिनको त्यो निर्णय- यसरी प्रवेश गर्दैछन् रुसी फौजमा नेपाली युवा (भिडिओ)

Comments

2 responses to “दूतावासको ताकेता लत्याउँदै नेपाली युवा धमाधम रुसी फौजमा ! (भिडिओ)”

  1. Peekay Avatar
    Peekay

    अब आफ्नै देशको सरकारी आव्हान लत्याउने नेपालीहरू भोली युद्धमा मारिए भने यहाको सरकारले तिनीहरूको लाश स्वदेश ल्याउन कुनै पहल नगरोस र खर्च पनि नगरोस। उनीहरू अब विदेशो सेनाको सम्पत्ती भैसके पछि किन हाम्रो करको पैसाबाट लाश ल्याउने व्यवस्था गर्ने र?

  2. लोक बहादुर रेगामी Avatar

    पापी पेट ले केके गराउछ गराउछ ,मजबुरीको नाम महात्मा गान्धी

Leave a Reply

Your email address will not be published. Required fields are marked *