रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम जेठ २६ गते ल्याउने भएको छ । यसका लागि बिहीबार प्रदेशसभा बैठक बोलाइएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले जेठ २६ गते नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने उनका प्रेस संयोजक गुनाराम घिमिरेले जानकारी दिए ।
सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले रोजगारी र व्यवसायिक कृषिलाई प्राथमिकता दिने गरी शुक्रबार नीति कार्यक्रम ल्याउन लागेको बताए । प्रदेश सरकारले एक वर्षमा उद्योग, भौतिक पूर्वाधार, विकासलगायत काममा २ लाख जनालाई रोजगारी दिने किटान गरेरै नीति कार्यक्रमको तयारी गरेको उनको भनाइ छ ।
नीति तथा कार्यक्रममा रोजगारीका क्षेत्र किटान गरेर गरिब, सीमान्तकृत, अल्पसंख्यक, मुक्त कमैया, कमलरी, महिलालगायतलाई रोजगारीमा प्राथमिकता दिइनेछ । त्यस्तै प्रदेशको वन र खानीलाई उपयोग गरी त्यसबाट आर्थिक उपार्जन गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको उनले बताए ।
नीति तथा कार्यक्रममा नयाँ कार्यक्रमका रुपमा मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम राखिएको छ । हरेक कार्यक्रममा मानवीय विकास, लैंगिक समानता, सामाजिक समावेशीकरणलाई आधार मानेर नीति तथा कार्यक्रमको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कानून सचिव राजेन्द्र थापाले बताए ।
‘हरेक घर-घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारासहित घोषणा गर्दे विगतमा केही राम्रा कार्यक्रमलाई निरन्तरता दिने केही नयाँ कार्यक्रम थप्ने तयारी गरेको छ । सरकारले नारालाई पुष्टि गर्न स्थानीय उत्पादनमा जोड दिँदै स्थानीय बजारीकरणमा पनि बाटो खोज्ने नीति ल्याउँदैछ ।
यसपटक बजेटको आकार घट्ने भएकाले सरकारले चलाएका बहुवर्षीय आयोजनालाई निरन्तरता दिने र अति आवश्यक नयाँ हिसाबले बनाउने र पर्यटनको क्षेत्रमा लुम्बिनीलाई केन्द्र बनाएर अन्य क्षेत्रलाई जोड्ने गरी कार्यक्रम ल्याउने सरकारको योजना छ ।
ठूला र धेरै बजेट खर्च हुने आयोजनालाई यसपालि अघि नसार्ने तर प्रत्यक्ष लाभ प्राप्त हुने योजनालाई अघि सारिने भएपछि नयाँ सांसद र मन्त्रीहरुलाई आफ्ना योजना समेट्न समस्या परेको छ ।
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले बजेटको सीमालाई ख्याल गर्दै अगाडि बढ्ने बताएका छन् ।
रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता राखेको उनको भनाइ छ ।

Leave a Reply