काठमाडौं । दुई महिनाअघि चैत १७ गते जनमत पार्टीबाट पहिलोपटक खानेपानीमन्त्री बनेका अब्दुल खानले सिंहदरबारभित्र ४ ठाउँमा सार्वजनिक धारा उद्घाटन गरे ।
सिंहदरबार काम लिएर जाने सर्वसाधारणले पानी खान कि त विभिन्न मन्त्रालयको क्यान्टिनमा छिर्नुपर्थ्यो कि त आफैँले मिनरल वाटर किनेर जानुपर्ने बाध्यता ।
त्यही समस्या छार्न खानेपानी मन्त्रालय, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सक्रियतामा सिहंदरबारभित्रै सार्वजनिक धारा बनाइएको थियो ।
धारा उद्घाटन गर्दै तत्कालीन खानेपानीमन्त्री खानले आफूले मन्त्री बनिसकेपछि नै सबै नेपालीहरुलाई जार र बोतलको पानी किन्नुपर्ने अवस्थाबाट मुक्त गरी सार्वजनिक धाराको पानी खुवाउने घोषणाअनुसार सिंहदरबारबाट काम सुरू गरेको बताएका थिए ।

उनले आफूले जति नै काम अरु मन्त्रीले गरे देश बन्न समय नलाग्ने दाबीसमेत गरेका थिए ।
उनले अब छिट्टै विभिन्न सार्वजनिक स्थल, शौचालय, विमानस्थल, बसपार्क र अस्पताल लगायतका स्थानमा सार्वजनिक धारा राख्ने मन्त्रालयको योजना सुनाए । तर, सार्वजनिक ठाउँमा सर्वसाधारणका लागि धारा राख्ने त त्यस्तै हो भएको सिंहदरबारभित्रैको समेत धारा खोल्दा अहिले पानी नभई हावाको आवाजमात्र सुनिन्छ । उद्घाटन गरिएको २० दिन नपुग्दै यहाँ पानी आउन छाडेको हो ।
गृहमन्त्रालय परिसरको धारा त प्लाष्टिकले छोपेर राखिएको छ ।

धारामा पानी नआउँदा फेरि सिंहदरबार पुगेका सर्वसाधारणले बोतल कि क्यान्टिनतिरै चाहरेर पानी पिउँनुपर्ने पुरानै रोग दोहोरिएको छ । यहाँको धारामा काठमाडौं उपत्यका खानेपानी लिमिटेडको लाइन छ ।
खानेपानी मन्त्रालय भने मेलम्चीको पानी बीचमा नआएकाले धारामा पानी नआएको बताउँछ । मन्त्रालयका सूचना अधिकारी चेतप्रसाद उप्रेतीले मेलम्चीको पानीबाहेक अन्य पानी खान नमिल्ने भएकाले अहिले सिंहदरबारको धारामा पानी नआएको बताए ।
त्यहाँ केयूकेएलको बानेश्वर शाखाले वितरण गर्ने जानकारी पाएको भन्दै उनले आफू भर्खर आएकोले थप जानकारी नभएको बताए ।
उनले भने, ‘म यो मन्त्रालयमा भर्खरै आएको हो । मैले जानकारी लिन पाएको छैन । यो बीचमा मेलम्चीको पानी दुई साता बन्द गरेकाले पानी वितरण नगरेको भन्ने छ । आज रातिसम्म मेलम्चीको पानी आयो भने भोलिदेखि नै धारामा नियमित पानी आउँछ भनेर भनेको छ । ’
उनले मर्मतको लागि मेलम्ची दुई साता बन्द भएर पानी नआएको दाबी गरे । तर वैशाख ५ गतेदेखि नै धारामा पानी आउन छाडेको थियो ।
‘ हो र खै किन होला त्यो चाहिँ थाहा भएन । म केयुकेएलसँग सोध्छु’, उप्रेती पन्छिए ।

तस्बिर/भिडिओ : उमेश कार्की ।

Leave a Reply