मेलम्चीमा तीन पालिका जोड्ने ‘बेलिब्रिज’ निर्माण हुने

मेलम्ची । सिन्धुपाल्चोकको तीन पालिका जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ निर्माण हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

निर्वाचनका समयमा जेठ मसान्तभित्र बेलिब्रिज निर्माण गर्ने प्रतिबद्धता गरे पनि केही समय ढिलो गरेर बेलिब्रिज जडान हुन लागेको बागमती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ (समीर)ले जानकारी दिए। उनले भने ‘अब बेलिब्रिज निर्माण प्रक्रिया तत्काल अगाडि बढ्छ ।’

उनले वर्षा याममा यहाँका नागरिकहरूलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले जतिसक्दो चाँडो सम्पन्न गर्नका लागि आग्रह गरे।

महासेनानी ईश्वर बुढाथोकीले बेलिब्रिज जडान कार्य केही चुनौती रहे पनि जतिसक्दो चाँडो कार्य सम्पन्न गर्न लागिपर्ने जानकारी दिए ।

मेलम्ची पारिको वडा नं ९ र १० तथा पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका जोड्ने सो पुल निर्माण भएपछि त्यहाँका नागरिकले प्रत्यक्ष लाभ लिनेछन् भने सदरमुकाम चौतारा जाने छोटो दूरीको ‘रुट’का रूपमा समेत यस सडक प्रयोग हुँदै आएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशसभा सदस्य तामाङको पहल, निरन्तर प्रयासपछि मेलम्ची खोलामा बेलिब्रिज निर्माण गर्नका लागि अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रक्षा मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।

नेपाली सेनाको इञ्जिनियरिङ विभाग, १४ नं वाहिनी अड्डाबाट महासेनानी बुढाथोकीको नेतृत्वमा आएको टोलीले अध्ययन सर्वेक्षण गरेको हो ।

विसं २०७८ असार १ गते आएको बाढीले पक्की पुल बगाउँदा यहाँका नागरिकहरूले बर्खाको समयमा सास्ती खेप्दै आएका छन् ।

हिउँदको समयमा ह्युमपाइप राखेर सडक सञ्चालन गर्ने गरिएको भए पनि बर्खा लागेसँगै समस्या हुने गरेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *