काठमाडौं । सरकारले थप ७१ देशमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ । अहिले खुला रहेका १०८ देशमा थप ७१ देशमा पनि वैदेशिक रोजगारी खुला गर्ने तयारी सरकारले गरेको हो ।
मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी भएको जानकारी दिए । उनका अनुसार प्रतिबन्धमा रहेको इराकमासमेत वैदेशिक रोजगारी खुला गर्न गृहकार्य सुरु भएको छ ।
मन्त्रालयको योजनाअनुसार नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम रहेका सबै देश वैदेशिक रोजगारीका लागि खुला गर्ने सरकारको तयारी रहेको सचिव अर्यालले बताए ।
सचिव अर्यालले भने, ‘दौत्य सम्बन्ध कायम भएका संसारका सबै मुलुकका लागि श्रम स्वीकृति दिन काम कारबाही अघि बढेको छ । इराकको अवस्था विगतको जस्तो नभएकोले नयाँ परिवेश मूल्यांकन गरेर वैदेशिक रोजगारीका लागि खुला गर्ने तयारी भइरहेको छ ।’
उनले थप्दै भने, ‘जहाँ-जहाँ दौत्य सम्बन्ध कायम भएका छन्, ती सबै देश वैदेशिक रोजगारीका लागि खुला गर्नुपर्छ नेपालले अहिलेसम्म १७९ देशसँग दौत्य समबन्ध कायम गरेको छ ।’
गर्दा १७९ वटा देशमा नेपालीले रोजगारीका लागि जान पाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारीका लागि १११ देश खुला भए पनि अफगानिस्तान, लिबिया र इराक वैदेशिक रोजगारीमा जान नपाउने गरी कालोसूचीमा रहेका छन् ।
आन्तरिक गृहयुद्धमा फसेका यी देशमा पनि अब नेपाली श्रमिक पठाउने गृहकार्यमा सरकार लागेको हो । तीन वटा कालोसूचीमा रहेका देशसहित ७१ वटा देश वैदेशिक रोजगारीका लागि खुला भएका जम्मा रोजगारीका लागि खुला हुने देशको संख्या १७९ पुग्नेछ ।

Leave a Reply