काठमाडौ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्थको व्यवस्थापन र सञ्चालनका लागि दुईजना कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले दोस्रो पटक आवेदन माग गरेको हो । यसअघि पनि वैशाख २८ गते भ्याकेन्सी खुलाएको थियो ।
सो समयमा उपयुक्त आवेदन नपरेपछि दोस्रोपटक भ्याकेन्सी खुलाएको हो । दाङको तुलसीपुरमा रहेको यो लघुवित्त व्यवस्थापन गर्न करारमा कर्मचारी राख्न लागिएको हो । एकजना संयोजक र एक जना सदस्य गरी दुईजनाका लागि भ्याकेन्सी खुलाइएको छ ।
संयोजकले बैकिङ क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ । व्यवस्थापन, बैकिङ, मौद्रिक,अर्थशास्त्र, बाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, व्यापार प्रशासन वा कानुन विषयमा स्नातोकत्तर पास गरेको हुनुपर्नेछ । यस्तै सदस्यले लेखा सम्बन्धी कार्यमा न्युनतम १० वर्ष अनुभव हासिल गरेको वा चार्टड एकाउन्टेन्सी पास गरी ५ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ ।
दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तको असार २०७८ को वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण र त्यसपछि गरिएको विशेष निरीक्षणमा संस्थाको सञ्चालक समितिको अध्यक्ष र सञ्चालकबाट ऋणको दुरुपयोग गरेको पाइएको थियो ।
राष्ट्र बैंकले यस संस्थालाई २०७८ चैत २ गते नै शीघ्र सुधारात्मक कारबाही विनियमावली २०७४ अनुसार कारबाही गरी नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ अनुसार समस्याग्रस्त घोषणा गर्नुपर्ने कुनै कारण भए स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। तर, संस्थाले दिएको स्पष्टीकरण सन्तोषजनक नदेखिएकाले समस्याग्रस्त वित्तीय संस्थाको रुपमा केन्द्रिय बैंकले घोषणा गरेको थियो ।

Leave a Reply