आन्दोलनरत पक्षलाई वार्तामा आउन मुख्यमन्त्री कार्कीको आह्वान

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पक्षलाई संवादबाट निकास खोज्न आग्रह गरेका छन् ।

१६ औँ गणतन्त्र दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक मुद्दाहरू संवादबाटै समाधान भएकाले आन्दोलन छाडेर संवादमा आउन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।

प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेशको नामकरण गर्न नसकेको स्मरण गर्दै उनले छैटौँ वर्षको प्रारम्भमा नामकरण गरिएको बताए ।

उनले कोशी नामकरणपछि त्यसका विपक्षमा रहने पहिचानवादी शक्ति र व्यक्तिहरूले यसका विरुद्धमा कार्यक्रमहरू गरिरहेको भन्दै उनले यस्ता गतिविधिहरूलाई पूर्ण रूपमा शान्तिपूर्ण तवरले गर्न आग्रह गरे ।

‘तपाईँहरूका संविधान र कानुनले प्रत्याभूत गरेका अधिकारसहित राखिएका नामको बारेमा तपाईँहरूको विमति भए आगामी निर्वाचन र संवैधानिक कानुनी प्रक्रिया मार्फत अघि बढ्न आह्वान गर्दछु,’ मुख्यमन्त्री कार्कीले भने, ‘तपाईँहरूले आफ्ना हिंसात्मक गतिविधि छाडेर सरकारसँग संवाद र छलफल गर्नका लागि म आह्वान पनि गर्न चाहन्छु ।’

संवाद र छलफलबाट निष्कर्षमा पुग्न सकिने भन्दै ठुलठुला राजनीतिक घटना परिघटना अन्तिममा आएर सहमतिकै माध्यमबाट नै सार्थक निष्कर्षमा पुग्न सफल भएको चर्चा गरे ।

‘हाम्रो मुलुकका जुन सामाजिक सद्भाव छ । शान्तिको वातावरण छ, त्यसलाई नबिगार्नको लागि हामी सबै संयमित हुन आवश्यक छ’ मुख्यमन्त्री कार्कीले भने ।

उनले विरोधका कार्यक्रममा घाइते हुने आन्दोलनरत पक्ष र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबेलाई आफ्नो मर्यादाभित्र रहेर शान्तिपूर्ण ढङ्गले सहमतिबाट समस्याको निकास खोज्न पनि आह्वान गरे ।

दिवसका अवसरमा कोशी प्रदेशका तीन जना पत्रकारलाई जनही एक–एक लाख नगदसहित पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरूमा मोहन भण्डारी, नरबहादुर लिम्बु मेन्याङवो र श्यामकृष्ण राई पुरस्कृत भएका छन्।

Comments

One response to “आन्दोलनरत पक्षलाई वार्तामा आउन मुख्यमन्त्री कार्कीको आह्वान”

  1. Gobo Kaji Avatar
    Gobo Kaji

    कुनै अरु अधिकार नभयर केवल पहिचानको आधारमा नाम मात्र राख्नको लागि पहिचानबादी आदिबासिहरुको मागलाई ज्यानै लिने गरी दबाइको कारण यो अवस्था खराब हुँदै गयकोछ। अब उनिहरुले आत्मानिर्णयको अधिकार सहितको राज्य प्राप्तिको लागि हतियार उठाउन तयार भय भने के होला?

Leave a Reply

Your email address will not be published. Required fields are marked *