माओवादी सांसद लेखनाथ दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको निर्देशन (भिडिओ)

काठमाडौं । सभामुख देवराज घिमिरेले माओवादी सांसद लेखनाथ दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

स्वास्थ्य सामाग्रीको भ्रष्टाचार र पशुपतिमा जलहरी लगाउँदा सुन भनेर पित्तल लगाउने भन्दै दिएको अभिव्यक्ति हटाउन निर्देशन दिएका हुन् ।

‘मिति २०८० जेठ १० गते सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनेक्रममा माननीय सदस्य श्री लेखनाथ दाहालले प्रयोग गर्नु भएको विचारहरु भित्र स्वास्थ्य सामग्रीको २ अर्बको भ्रष्टाचार र पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरु भन्ने शब्द संसदको अभिलेखबाट हटाउन म संसद सचिवालयलाई निर्देशन गर्दछु ’, सभामुख घिमिरेले भने ।

पशुपतिनाथको जलहरीलगायतका विषय पशुपति क्षेत्र विकास कोषको क्षेत्राधिकार पर्ने भन्दै ओलीलाई जोड्न उचित नहुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रष्टीकरण दिइसकेका छन् ।

संसद्को जेठ १० गते बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाई भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

दाहालको अभिव्यक्ति फिर्ता नभएसम्म संसद् चल्न नदिने भन्दै शुक्रवार एमालेले संसद् अवरोध गरेपछि आज ४ बजेका लागि बैठक बोलाइएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *