काठमाडौं । नेकपा माओवादीकेन्द्रनिकट अखिल (क्रान्तिकारी) को विवाद इकाईसम्म पुगेको छ । पोखरा विश्वविद्यालय अन्तर्गतकाे एनसीआईटी कलेजमा काठमाडौं उपत्यका जिल्ला समिति र राष्ट्रिय समितिले हस्तक्षेप गरेका छन् ।
कलेजकाे संस्थापक कमिटी भंग गर्दै जिल्ला समितिले नयाँ संयोजक र सहसंयोजक तोकेको छ । त्यसैलाई सदर गर्दै राष्ट्रिय समितिले आयोजक कमिटी बनाउन निर्देशन दिएको छ ।
नयाँ कार्यविधि आएपछि सम्मेलन गर्ने भनेर जेठ २ गते क्याम्पसको इकाई बैठक बसेको थियो । तर, केन्द्रीय नेताहरु विभाजित भएको समयमा इकाई सम्मेलन हुने सम्भावना नरहेको भन्दै पुनः जेठ ८ गते पदाधिकारी बैठक बसेर संगठन चलायमान बनाउने निष्कर्षसहित समिति विस्तार गरियो । १० गते अध्यक्ष सुजन खनालले विज्ञप्तिमार्फत समितिको नाम सार्वजनिक गरेका थिए ।

यो पनि पढ्नुस् : अखिल क्रान्तिकारीको विवाद- खुला सत्र पञ्चाको, कमिटी बन्यो पवन कार्की समूहको
तर इकाई समितिले गरेको निर्णयलाई अस्वीकार गर्दै जिल्ला कमिटीका सचिव दियोजित ओली र उपाध्यक्ष आभास उप्रेतीले सुदीप सिलवाललाई संयोजक र अनुप पाण्डेलाई सहसंयोजक तोकेका छन् । सचिव ओली महासचिव दिपेश पुन निकट नेता हुन् । जिल्ला कमिटी कमाण्ड गर्ने राष्ट्रिय समितिका अध्यक्ष जीवन खड्काले पनि बुधबार एक विज्ञप्तिमार्फत सुजन खनालको कमिटी खारेज गर्दै सुदीप र अनुपलाई संयोजक-सहसंयोजक तोक्दै आयोजक कमिटी बनाउन निर्देशन दिएका छन् ।


तर, पोखरा विश्वविद्यालय समितिका उपाध्यक्ष मोहन बुढाथोकीले भने एनसीआईटी मूल इकाई कमिटी सम्मेलन सुजन खनालको संयोजकत्वमा छुट्टै हुने फेसबुकमा लेखेका छन् ।
‘नयाँ शैक्षिकसत्र र स्पोर्ट वीक अनियमिततामा मुख मिठ्याउँदै संगठनको औपचारिक बैठकविना धराशायी अवस्थामा रहेको संगठनमा गोजिभित्रबाट गरिने कुनै पनि निर्णय स्वीकार गर्न सकिँदैन । कसैको निजी स्वार्थको लागि राजनीतिक भविष्य बोकेको ऊर्जावान विद्यार्थी नेताको राजनीति सकिने गरिने अवैधानिक निर्णय निन्दनीय छ यो मान्ने हुने छैन र कोही भ्रमित नहुन दुष्प्रचार नगर्न पनि अनुरोध गर्दछु’, बुढाथोकीले लेखेका छन् ।
(यसअघि प्रकाशित समाचारमा केही तथ्यहरु त्रुटिपूर्ण देखिएकाले संसोधन गरिएको छ । सं.)

Leave a Reply