काठमाडौं । पत्रपत्रिकालाई वितरण गरिने लोककल्याणकारी विज्ञापन रोकिएपछि केही दिनयता पत्रकार महासंघलगायतका केही संस्थाले आपत्ति जनाइरहेका छन् । महासंघ उपत्यका समितिको आव्हानमा विज्ञापन बोर्डमा धर्नासमेत भइरहेको छ ।
तर, अर्थमन्त्रालयबाटै निकासा नआएका कारण उक्त रकम रोकिएको बोर्डका एक अधिकारीले बताए । अपुग रकमबारे पटकपटक सञ्चारमन्त्रालयसमक्ष पत्राचार गरिएको, सम्बन्धित सरोकारवालालाई जानकारी गराइएपनि अहिले बोर्डले आफूखुशी पैसा रोकेजस्तो गरेर प्रचार गरिएको उनले बताए ।
‘अपुग बजेट नआएपछि तत्काललाई विज्ञापन रोकेका हौं । बजेटको व्यवस्था हुनासाथ यो समस्या समाधान हुन्छ । बोर्ड आफ्नै हातमा के छ र अर्थले पैसा दिए न हामीले वितरण गर्ने हो । तर, यहाँ अनावश्यक बखेडा झिकिँदैछ’, एक पदाधिकारीले नेपाल प्रेससँग भने ।
विज्ञापन बोर्डले गत वैशाख ३१ मा सूचना जारी गर्दै लोककल्याणकारी विज्ञापनबापतको रकम नपुग भएकोले जेठ १५ सम्मको विज्ञापन प्रकाशनको मात्र भुक्तानी गरिने जानकारी गराएको थियो ।
बोर्डले गत फागुन १८ मै चालू आर्थिक वर्षको चौथो त्रैमासिकमा भुक्तानी गर्नुपर्ने लोककल्याणकारी विज्ञापनबापत २ करोड ७४ लाख अपुग भएको व्यहोराको पत्र पठाइ निकासाका लागि ‘अत्यन्त जरुरी’ पत्र पठाएर अनुरोध गरेको थियो ।

तर, मन्त्रालयले बजेट निकासाको सट्टा चैत २९ मा चैत महिनासम्मको नपुग रकम एकिन गरी जानकारी गराउन पत्राचार गरेको बोर्ड स्रोत बताउँछ ।
‘हामीले सञ्चारमार्फत अर्थमा अनुरोध गर्ने हो । पुन: वैशाख २५ गते सबै जिल्लाबाट विवरण संकलन गरी मन्त्रालयमा २ करोड ४६ लाख नपुग रकम निकासाका लागि पत्र पठाएका थियौं’, स्रोतको भनाइ छ ।
दुईपटककको ताकेतापछि मात्र सञ्चारले अर्थमन्त्रालयमा जेठ ३ गते थप बजेट माग गरेर पठाएको बताइएको छ ।
‘रकम अपुग भएकोले भुक्तानी गर्न नसकिने बारे पटकपटक पत्रकार महासंघका पदाधिकारी, अर्थमन्त्री, सञ्चारमन्त्रीको ध्यानाकर्षण गराइएको छ । तर, अहिले आएर वास्तविकता नबुझी विरोध गर्नु कागले कान लग्यो भन्दैमा कान नछामी दौडेजस्तो भएको छ’, बोर्डका एक सदस्य भन्छन् ।

Leave a Reply