कोर्ट म्यारिजलगत्तै वैवाहिक बलात्कारमा परेको भन्दै चिनियाँ श्रीमानविरुद्ध नेपाली श्रीमतीको उजुरी

काठमाडौं। चिनियाँ नागरिक झाओ छुएचेङ र नेपाली महिला सविता (नाम परिवर्तन) ले गत फागुन १४ गते दुवैतर्फका पारिवारिक सदस्यहरूको उपस्थितिमा राजधानीको एक पार्टी प्यालेसमा विवाह गरे।

नव दम्पत्तीले चिन जानका लागि आवश्यक डकुमेन्टहरू जुटाउन थाले। वैशाख ८ गते धुलिखेलस्थित काभ्रे जिल्ला अदालतमा कोर्ट म्यारिज भयो। तर भोलिपल्टै ३० वर्षे छुएचेङले आफूलाई वैवाहिक बलात्कार गरेको भन्दै केही दिनमा सविता बौद्ध प्रहरी वृत्तमा उजुरी गर्न पुगिन्। प्रहरीले चिन फर्कने तयारी गरिरहेका छुएचेङलाई पक्राउ गर्‍यो।

सविताका अनुसार नेपालमा रहेका चिनियाँ नागरिक लि बिङ्लीमार्फत छुएचेङसँग चिनजान भएको थियो। उनले विवाहको कुरा अगाडि बढाएपछि सविता राजी भइन्।

विवाह गर्नका लागि छुएचेङ गत फेब्रुअरी १४ तारिखमा नेपाल आएका थिए। तर कोर्ट म्यारिज गरेपछि आफू र आफ्नो परिवारलाई हेला गर्न थालेको आरोप सविताको छ। आफ्ना परिवारका सदस्यलाई समेत कुनै आदर सत्कार नगरेको सविताले जाहेरीमा उल्लेख गरेकी छिन्।

‘मेरो आमाले म प्रति गर्ने कर्तव्य पूरा गरी मेरो विवाह निज विपक्षीसँग गराइदिनु भयो र मेरो बहिनी समेतले दुःख गरी कागजात जुटाउन सहयोग गरिन्। पछिल्लो समय निज विपक्षीले मेरो जीवनमा खेलबाड मात्र गर्न आएको देखियो। कोर्ट म्यारिज लगत्तै उनले दानवीय व्यवहार देखाउन थाले’, सविताले जाहेरीमा उल्लेख गरेकी छिन्।

चीन फर्कनुभन्दा केही दिनअघि आफ्नो परिवारले छुएचेङलाई ससुरालीमा बोलाएको र त्यहाँ आफूमाथि अप्राकृतिक तरिकाले यौन सम्बन्ध राखिएको पीडित भनिएकी महिलाको भनाई छ।

‘विपक्षीले मेरो इच्छा विपरीत आफ्नो यौन चाहना विपरीत मेरो मुख र गुद्वारमा समेत लिङ्ग छिराई बल पूर्वक करणी गर्न थाले। सो क्रममा मलाई यो जनावरसँग कसरी जीवन यापन गर्ने भन्ने बारेमा मनमा चिन्ता हुन थाल्यो। मैले सो बारेमा आफन्तलाई जानकारी गराउने आँट गर्न सकेकी थिइन्। विपक्षीले भोलिपल्ट समेत सोही व्यवहार दोहोर्‍यायो। म टोलाएकोदेखि मेरो दिदीले मलाई सोध्दा मैले दिदीलाई सबै कुरा जानकारी गराउँदा दिदीले निजलाई सम्झाउँछु भन्दा निज रिसाएर घरबाट निस्कनु भयो र मलाई म्यासेजमा तिमी आएर आफ्नो पासपोर्ट लिन आऊ नत्र म चीन फर्किएर जाँदै छु भन्न थाल्यो। यसरी निजले म र मेरो परिवारलाई धोका दिएर मलाई यौन सन्तुष्टिको डमीका रूपमा मात्र प्रयोग गरे’, पीडितको दाबी छ।

यता आरोप छुएचेङले पैसा नपाएको निहुँमा आफूमाथि वैवाहिक बलात्कारको आरोप लगाइएको बयान दिएका छन्। छुएचेङका अनुसार विवाहपछि सविताले आफू र आफ्नो परिवारको लागि खर्च चाहियो भन्दै पटक पटक पैसा मागिरहेकी थिइन्।

आफू चिन फर्कने बेला त्यो क्रम अझ बढेको छुएचेङको भनाई छ। ‘निज पीडितले आफ्नो आमालाई र घर परिवार सबैको लागि मलाई पैसा चाहियो भनी माग गर्न थालिन्’, बयानमा उल्लेख छ।

आफूले भनेअनुसार पैसा दिएपछि सविता चीन नजाने पो हो कि भन्नेमा आफूलाई शंका लागेको पनि उनले उल्लेख गरेका छन्।

‘हामीहरूको विवाह दर्ता भएपछि श्रीमतीले मलाई चिनियाँ युआन एक लाख आफ्नो आमाको लागि चाहिन्छ, यदि तिमीले मेरो आमालाई मैले भने अनुसारको रकम दियौ भने मात्र म तिमीसँग चीन जान्छु नत्र म चीन जाँदैन भनी मलाई पटक पटक दबाब दिन थालेपछि मैले यति धेरै एकमुस्ट दिन सकिँदैन, हामीहरू श्रीमान् श्रीमती हौँ, अलि अलि गरी खर्चहरू चलाउँदै गरौँला भन्दा निजले मान्नु भएन र मलाई मेरो आमाको लागि जसरी पनि पैसा चाहिन्छ भन्न थालेपछि हामीहरू दुवै जनाबीच मनमुटाब सुरु भयो’, आरोपीको बयान छ।

आफ्नी आमासँग सविताले तपाईँको छोरा होटलमा जसरी बसेको छ भनेपछि ससुरालीबाट निस्किएर होटलमा गएर बसेको पनि उनले उल्लेख गरेका छन्।

सवितासँग हरेकपटक सहमतिमै यौन सम्पर्क भएको पनि उनको दाबी छ।

काठमाडौं जिल्ला अदालतमा सोमबार मात्र छुएचेङविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दायर भएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *