सन्दीपको मुद्दा लम्ब्याउने खेल, फैसला पन्छाउन न्यायाधीशका अनेक झेल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला अनावश्यक रूपमा लम्बिएको छ । फैसलाको चरणमा आइपुग्दा जिल्ला अदालतका न्यायाधीशहरुले पटक–पटक सुनवाइ टारिरहेका छन् ।

अन्तिम सुनवाइका लागि हिजो तोकिएको पेशी न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा परेको थियो । तर, उनले मुद्दामा सुनवाइ नगरीकन ‘प्रमाणहरू थप बुझ्नुपर्ने’ आदेश दिएर टारे । उनले कुनै नयाँ प्रमाणको खोजी गरेका भने छैनन् । जाहेरीकर्ता गौशाला २६ को जन्म दर्ता भएको वडाको पत्र र उनी जन्मेको अस्पतालको कागज उनले मगाएका हुन्, जुन यसअघि नै अदालतमा पेश भइसकेका थिए ।

अदालतको हिजोको आदेशमा वडाको पत्रमा जन्म मितिबारे स्पष्टता नभएको तथा अस्पतालको कागज नबुझिएको उल्लेख छ । सन्दीपका वकिलहरू भने यो केवल फैसला टार्ने बहाना मात्रै भएको बताउँछन् ।

सन्दीपको तर्फबाट बहस गरिरहेका अधिवक्ता सरोज घिमिरेले भने, ‘वडाको पत्र र अस्पतालको कागज दुवै सर्वोच्चमा पनि पेश भएका थिए । सर्वोच्चका न्यायधीशहरुले मज्जाले बुझ्ने तर जिल्ला अदालतका न्यायधीशले नबुझ्ने कसरी हुन्छ ?’

त्यसो त दुवै डकुमेन्टमा कुनै पनि अस्पष्टता छैन । नुवाकोटको तादी गाउँपालिकाको सम्बन्धित वडाले पठाएको पत्रमा जाहेरीकर्ताको उमेर १८ वर्ष काटिसकेको पुष्टि गरिएको छ । नेपाल प्रेससँग समेत सुरक्षित रहेको पत्रमा स्पष्ट शब्दमा भनिएको छ, ‘…निजको जन्ममिति २०६१/०३/१८ प्रमाणित हुने जानकारीका साथ अनुरोध गरिन्छ ।’

यो जन्ममिति अनुसार घटना हुँदा गौशाला २६ को उमेर १८ वर्ष कटिसकेको ठहर्छ । अस्पतालको कागजमा जन्ममिति योभन्दा एक महिना फरक छ । गौशाला २६ को जन्म भएको नारायणी अञ्चल अस्पतालले दिएको कागजमा जन्ममिति २०६१/०२/१८ लेखिएको छ ।

यसरी दुईमध्ये जुनलाई आधिकारिक मान्दा पनि जाहेरीकर्ता नाबालिग नरहेको स्पष्ट हुन्छ । गौशलाको नागरिकतामा भने एक वर्ष उमेर घटाइएको छ । कानूनी व्यवस्था अनुसार यदि सरकारी कागजातहरूमा जन्ममिति फरक–फरक भेटिएमा जुन डकुमेन्ट पहिले बनाइएको हो, त्यसलाई आधिकारिक मान्नुपर्ने हुन्छ । त्यसैले यहाँ अस्पतालको कागज नै जन्ममिति यकिन गर्ने सबैभन्दा पहिलो आधार बन्न जान्छ ।

सर्वोच्च अदालतले जन्ममितिको विषय जिल्ला अदालतले नै निरूपण गर्ने बताएको थियो । सर्वोच्चको आदेशमा सन्दीपले गौशाला–२६ माथि जबरजस्ती करणी भने नगरेको स्पष्ट आशय व्यक्त भएको छ । आपसी सहमतिमा सम्बन्ध रहेको देखिएमा जाहेरीकर्ताको जन्ममिति नै सबैभन्दा महत्त्वपूर्ण विषय बन्छ । यदि जबरजस्ती करणी भएको ठहर भएमा नाबालिग हुनु र नहुनुले धेरै महत्त्व राख्दैनथ्यो ।

अदालत स्रोतका अनुसार अहिलेसम्मका प्रमाणहरू सन्दीपका पक्षमा छन् । जबरजस्ती सम्बन्ध पनि नराखेको र जाहेरीकर्ता नाबालिग पनि नरहेको ठहरे सन्दीपले पूर्ण सफाइ पाउँछन् । तर, न्यायाधीशहरु फैसला गर्न डराइरहेको स्थिति छ ।

‘सन्दीपलाई दोषी ठहर्‍याउने प्रमाण नरहेको तर उनलाई सफाइ दिँदा मिडिया र महिलावादीको निशानामा पर्ने डरले एकपछि अर्को श्रीमानज्यूहरुले फैसला पन्छाइरहनुभएको हो,’ अदालत स्रोत भन्छ ।

सर्वोच्च अदालतले यो मुद्दालाई फास्ट ट्र्याकबाट सुनवाइ गरेर छिटो फैसला दिन जिल्ला अदालत काठमाडौंलाई निर्देशन दिएको थियो । तर, ठीक उल्टो भइरहेको छ । सर्वोच्च अदालतले सो आदेश दिएको दुई महिना बित्न लाग्दा पनि मुद्दा जहीँको त्यहीँ छ । यसबीचमा पाँच पटक पेशी तोकियो । त्यसमध्ये चारपटक सुनवाइ नै हुन सकेन । एकपटक दिनभरि सुनवाइ भएर पनि न्यायधीशले त्यसलाई ‘हेर्दाहेर्दै’ मा राख्न इन्कार गरे । यदि हेर्दाहेर्दैमा राखेको भए भोलिपल्ट उनले नै सुनवाइलाई निरन्तरता दिएर फैसला गर्नुपर्ने हुन्थ्यो । तर, उनले ‘रिस्क’ लिन चाहेनन् ।

अन्य तीनवटा सुनवाइ स्थगित हुनुमा पनि तार्किक कारण छैन । गौशाला २६ ले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनको बहानामा दुईपटक सुनवाइ स्थगित गरियो । जबकि जिल्ला अदालतले यसअघि नै फैसलाको चरणमा भएको हुँदा आन्तरिक क्षतिपूर्ति दिनु नपर्ने भनेर निर्णय दिइसकेको थियो ।

सन्दीपका कानून व्यवसायीहरू मुद्दामाथि भित्री चलखेल सुरु भएको आशंका पनि गर्न थालेका छन् । बाह्य दबाबमा परेर न्यायधीशहरु बहकिन थालेको उनीहरू बताउँछन् ।

Comments

4 responses to “सन्दीपको मुद्दा लम्ब्याउने खेल, फैसला पन्छाउन न्यायाधीशका अनेक झेल”

  1. छुच्चो मान्छे Avatar
    छुच्चो मान्छे

    नेपालप्रेसले (वा यस्का पत्रकार, सम्पादक प्रकाशकहरूले) राम्रै स्पाेन्सर पाएका हुन् । तलुवा चटाइ अलि बढी नै भएकाे हो की?

    1. Aryan Avatar
      Aryan

      Tyaso vanne ho vane ta Maiti Nepal le ni Sandeep lai doshi dekhauna nikao dollar diyeko ho ki? Age hospital bata pramanit hunxa vane jabarjasti Sandeep lai doshi banaunu parney karan k? Tapaile gareko jasto question badi mathi pani uthna sakcha.

      1. छुच्चो मान्छे Avatar
        छुच्चो मान्छे

        जरूर । प्रश्न सबै माथी उठ्न सक्छ । तर जिल्ला अदालतमा अनुकुल इजलास हुँदा पटक पटक मुद्दा हटाउने प्रतिवादीकै वकिल हुन् । अदालतले त दुबै पक्षको कुरा सुनेर मुद्दामा बुझ्न आवश्यक लागेकाे आदेश गर्ने हो, आदेशबाट नै तर्सनुकाे त अर्थ अर्कै लाग्छ । यो मुद्दामा नेपाल प्रेसकाे लेखाइ अस्वभाविक र प्राेसंदीप देखिएकाेले रहस्यमयी र शंकास्पद छ । अदालतकाे मान प्रेसले झन् बढी गर्नु पर्छ ।

        1. छुच्चो मान्छे Avatar
          छुच्चो मान्छे

          जरूर । प्रश्न सबै माथी उठ्न सक्छ । तर जिल्ला अदालतमा अनुकुल इजलास नहुँदा पटक पटक मुद्दा हटाउने प्रतिवादीकै वकिल हुन् । अदालतले त दुबै पक्षको कुरा सुनेर मुद्दामा बुझ्न आवश्यक लागेकाे आदेश गर्ने हो, आदेशबाट नै तर्सनुकाे त अर्थ अर्कै लाग्छ । यो मुद्दामा नेपाल प्रेसकाे लेखाइ अस्वभाविक र प्राेसंदीप देखिएकाेले रहस्यमयी र शंकास्पद छ । अदालतकाे मान प्रेसले झन् बढी गर्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *