काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले नक्कली भुटानी शरणार्थी काण्ड सम्बन्धी अपराधको सम्पूर्ण संजाललाई कानूनको घेराभित्र ल्याई कारवाही गर्न सरकारसमक्ष माग गरेको छ ।
नेकपा एसका मोर्चा संगठन प्रमुख विजय पौडेलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै दोषिलाई कारवाही गर्न माग गरेका हुन् ।
ज्ञापनपत्रमा भनिएको छ, ‘देशका कतिपय उच्च पदस्थ नेता, उपप्रधानमन्त्री, मन्त्री, सांसद तथा मन्त्रालयका सचिवहरुले नै देशका नागरिकहरुलाई अर्को देशको नक्कली नागरिक बनाई विक्री गर्नु मानव बेचविखनको कार्यमात्र होईन राष्ट्रप्रतिको धोका र राष्ट्रद्रोही कार्य भएको छ । यस कुकर्मबाट राष्ट्रको प्रतिष्ठामा गंभीर क्षति भएको छ अन्तराष्ट्रिय बेइज्जती भएको छ ।’
यस काण्डमा संलग्न पूर्व उपप्रधानमन्त्री, मन्त्री, कतिपय दलका उच्चपदस्थ नेता, बहालवाला सांसद, उच्चपदस्थ कर्मचारी लगायतका मानिसहरूको भ्रष्ट कृयाललापलाई आधार बनाएर विभिन्न आवरणका शक्तिहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्ने र विविध षडयन्त्र गर्ने काम गरिरहेको उल्लेख गरेका छन् ।
‘विगतका धेरै भ्रष्टाचार काण्डहरू यत्तिकै बीचैमा सामसुम पारिएका हुँदा आम जनताका मनमनमा कतै यो संगीन मुद्दालाई पनि कमजोर पार्ने काम त भैरहेको छैन भन्ने गंभीर आशंका जन्मिएको छ । हाम्रो पार्टी यो विषयप्रति धेरै नै संवेदशील छ र गम्भीरतापूर्वक अध्ययन गरिरहेको छ । कुनै पनि प्रकारको मिलोमतोमा अपराधीलाई उन्मुक्ति दिई जनताको भावनामाथि खेलवाड गर्न थालियो भने त्यो देश र जनतामाथि थप कुठाराघात मात्र हुनेछ भनी हामी सरकारलाई सचेत गराउन चाहन्छौं ज्ञापनपत्रमा भनिएको छ ।
सरकारका अपराध अनुसन्धानमा खटिएका सबै निकायले दृढताापूर्वक अनुन्धानलाई अगाडि बढाउन् तथा अपराधीमाथि मुद्दा दायर गर्ने निकायले मुद्दालाई कमजोर बनाउने काम नगर्न आग्रह गरेका छन् । भ्रष्टाचारमा संलग्नहरु जतिसुकै शक्तिशाली भए पनि कार्वाहीमा पर्छन् भन्ने देखिएमा मात्रै निराश जनतामा नयाँ आशा र विश्वास पलाउने उल्लेख गरिएको छ ।


Leave a Reply