रुपन्देही । लुम्बिनी सरकारमा धनबहादुर मास्कीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
वैशाख १४ गते मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरीले आफूसँगै मन्त्री बनेका मास्कीलाई आर्थिक मन्त्रालयको जिम्मा लगाएपनि विनाविभागीय मन्त्री बनेका अन्य दुईजनाको जिम्मेवारी तोक्न अझै सकस छ ।
माओवादीबाट मास्की, नागरिक उन्मुक्ति पार्टीबाट धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोषकुमार पाण्डे विनाविभागीय मन्त्री बनेका थिए ।
वैशाख १५ मा बसेको मन्त्रिपरिषद्को बैठकले १० वटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीलाई दिएको थियो । बजेट बनाउने बेलामा अर्थमन्त्रालय मन्त्रीविहीन भएको आलोचना बढेपछि मास्कीलाई अर्थको जिम्मेवारी दिइएको हो ।
एकजना मन्त्रीको मात्रै जिम्मेवारी तोकिएको, बाँकी मन्त्रीको जिम्मेवारी र विस्तार अब केही दिनभित्र गरिने सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिएका छन् । आइतबार तीनजना मन्त्रीको जिम्मेवारी तोक्ने तयारी भएपनि गठबन्धन दलबीच कुरा नमिल्दा विवादका कारण ढिलाई भएको थियो ।
८ दलको समर्थनमा बनेको सरकारमा मन्त्रालय थपेर भागबन्डा पुर्याउने विषय बाहिर आएपछि मुख्यमन्त्री चौधरी दबाबमा छन् । यसअघि गठबन्धन दलमा सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस ४, माओवादी ३ र अन्य ६ वटा साना दललाई १/१ मन्त्रालय दिने, मन्त्रालय थप्नेसम्मको तायरी भएपछि मन्त्रालय थप्ने विषयमा चौतर्फी आलोचना बढेपछि मुख्यमन्त्रीलाई संकट परेको छ ।
यसअघि एमालेका लिला गिरी नेतृत्वको सरकारले १७ सदस्यीय मन्त्रिपरिषद् घटाएर १० मा सीमित बनाएको थियो । ८७ सदस्यीय प्रदेशसभामा ८ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसद अहिले सत्ता पक्षमा छन् भने एमालेका २९ र राप्रपाका ४ गरी ३३ सांसद प्रतिपक्षमा छन् ।


Leave a Reply