काठमाडौं । काठमाडौं महानगरपालिकाले भवन नक्सा स्वीकृतिका लागि इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम (इबीपीएस) प्रणाली लागू गरेको छ ।
यो प्रणाली लागू भएसँगै अब भवन नक्सा स्वीकृति प्रक्रियाका लागि दर्खास्त फारम भर्नु पर्ने, कार्यालय जानु पर्ने, हार्ड कपी बुझाउनु पर्ने झन्झटको अन्त्य भएको छ ।
वैशाख ३१ गतेको प्रमुख स्तरीय निर्णयबाट जेठ १ गतेबाट कागजरहित सेवा सुरु गर्दै महानगरले परम्परागत शैली अन्त्य गरेको हो ।
यसअघि नक्सा पास गर्दा, नामसारी गर्दा तथा निर्माण सम्पन्न प्रमाणपत्र लिँदा अनलाइनमा राखिएका कागजपत्रको फाइल बोकेर कार्यालय जानुपर्ने अवस्था थियो । विस. २०७० भदौ १६ गतेबाट कागज पनि हुनु पर्ने गरी अनलाइन प्रणाली सञ्चालन थालेकोमा अहिले यो बन्द गरिएको हो ।
यो प्रणालीजस्तै सेवाग्राहीको हात हातमै सेवा दिने, जहाँबाट पनि सेवा लिन सकिने एकीकृत विद्युतीय सुशासन प्रणालीको व्यवस्था गरिसकेको महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को भनाइ छ ।
‘सहज, सरल र पहुँचयुक्त सेवाका लागि हामीले लिएको नीति कार्यान्वयन भएको छ,’ प्रमुख शाहले भने, ‘सेवा प्रवाहसँगै कर प्रणाली, आकस्मिक सेवा, विभिन्न प्रकारका सिफारिस लिने जस्ता महत्त्वपूर्ण काम इन्टरनेट भएको मोबाइल र कम्प्युटरमा प्राप्त हुनेछ ।’
यसअघि वैशाख १ गतेदेखि ५ हजार वर्गफिट सम्म क्षेत्रफल भएको भवनको नक्सा स्वीकृत गर्ने अधिकार वडालाई दिइसकिएको छ ।

Leave a Reply