‘आर्थिक संकट’ले हिमाल खबर पत्रिकाको प्रकाशन बन्द

काठमाडौं । विगत २५ वर्षदेखि प्रकाशन हुँदै आएको ‘हिमाल खबरपत्रिका’ बन्द भएको छ । प्रकाशक कनकमणी दीक्षितले जेठको अंकसँगै प्रकाशन बन्द गरिएको जानकारी दिएका छन् ।

दीक्षितले प्रकाशकीय नोटमा भनेका छन्, ‘पाठकलाई दुखद सूचना दिनुपर्ने भएको छ, यसै २०८० जेठ अंकबाट हिमाल खबरपत्रिकाले विश्राम लिनेछ ।’

बन्द गर्नुको कारण उनले खुलाएका छैनन् । तर, आर्थिक समस्याका कारण निरन्तरता दिन नसकिएको व्यवस्थापनले कर्मचारीहरुलाई बताएको बुझिएको छ ।

सुरुमा पाक्षिक रुपमा प्रकाशित हुने गरेको हिमाल बीचमा साप्ताहिक भएर अहिले मासिक रुपमा प्रकाशन हुँदै आएको थियो । खुम्चिएको विज्ञापन बजार र मिडियामा चर्को प्रतिस्पर्धाबीच यो पत्रिकाले आफूलाई टिकाउन नसकेको हो । कोभिडकालमा हिमालको प्रकाशन केही समय स्थगित गरिएकोमा २०७८ सालबाट पुनः प्रकाशन हुन थालेको थियो ।

पत्रिका बन्द गरिए पनि हिमाल डटकम भने यथावत चलिरहने दीक्षितले जानकारी दिएका छन् । हाल करिब २० जना पत्रकार कार्यरत रहेकोमा ७-८ जनाले भने रोजगारी गुमाउने भएका छन् ।

दीक्षितले भनेका छन्, ‘मिडिया बजार तथा पाठकका चासो र रुचिको समीक्षा गरी फेरि कुनै न कुनै रुपमा कुनै बेला पाठकको हातमा आउने नै छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *