काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफू निर्दोष रहेको दाबी गरेका छन् । म्याद थपका लागि आज अदालत लगिनुअघि जिल्ला सरकारी वकिलको कार्यालयमा उनले आफूमाथि लागेका आरोपहरु अस्वीकार गरे ।
खाणले आफूलाई विनाकारण प्रहरीले समातेको गुनासो गरेका थिए । प्रहरी स्रोतका अनुसार ‘कोही पनि मान्छे अमेरिका नगएकाले ठगी भएको भन्न नमिल्ने’ उनको तर्क थियो ।
प्रहरीले भने खाणको संलग्नताको प्रमाण भेटिएको भन्दै हचुवामा पक्राउ नगरिएको बताए ।
‘पूर्वमन्त्री जस्तो मान्छेलाई यत्तिकै समात्ने कुरा आउँदैन’, प्रहरीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘प्रमाणविना हल्लाका भरमा हामी काम गर्दैनौं ।’
खाणले प्रहरीलाई प्रश्न गरे, ‘मैले मान्छे ठगेको भनिरहेका छन् । जब कोही पनि विदेश नै गएका छैनन् भने कसरी ठगेको हुन्छ ?’
खाणले यसरी अड्डी लिएपछि प्रहरीले हिजो पक्राउ गरेका दुई बिचौलिया (रामशरण केसी र गोविन्द चौधरी) लाई उनको अगाडि उभ्याएको थियो । उनीहरुलाई ‘तिमीहरुले पैसा कसलाई दिएका हौ ?’ भनेर प्रहरीले सोधेका थिए ।
दुवैले जवाफ दिए, ‘हामीले जसलाई पैसा दिएका थियौं, उनीहरुले मन्त्रीलाई, गृहमन्त्रीलाई, प्रधानमन्त्रीलाई बुझाउनुपर्छ भनेका थिए ।’
बिचौलियाको यस्तो जवाफपछि खाणले हौसिएर भने, ‘सुन्नुभयो ! गृहमन्त्रीमात्र होइन, प्रधानमन्त्री पनि भन्दै हुनुहुन्छ उहाँहरु । नोट गर्नुस् है, यो पनि ।’

Leave a Reply