सुदूरपश्चिममा नागरिक उन्मुक्ति संसदीय दलको नेताबाट किन हटाइए रामेश्वर ?

कैलाली । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेताबाट रामेश्वर चौधरीलाई हटाइएको छ । संसदीय दलको नेता हटाउन बसेको बैठकमा उनी सहभागी थिएनन् । संसदीय दलको नेताको उपस्थितिविना प्रमुख समेतक लक्ष्मणकिशोर चौधरीको अध्यक्षतामा बसेको बैठकले रामेश्वरलाई हटाएर घनश्याम चौधरीलाई संसदीय दलको नेता बनाएको हो । नागरिक उन्मुक्तिको निर्णयले यहाँको राजनीति तरङ्गित भएको छ ।

सरकार विस्तारको पूर्वसन्ध्यामा संसदीय दलको नेता परिवर्तनपछि धेरैले नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद उत्कर्षमा आएको टिप्पणी गरिरहेका छन् । आज संसदीय दलको कार्यालयमा बसेको बहुमत सदस्यहरूको बैठकले दलको नेतामात्रै परिवर्तन गरेन, प्रमुख सचेतकको जिम्मेवारी पनि हेरफेर गरेको छ ।
यसअघि प्रमुख सचेतक रहेका लक्ष्मणकिशोर चौधरीलाई हटाएर उक्त जिम्मेवारीमा खुसीराम चौधरीलाई ल्याइएको छ ।

संसदीय दलको नेता र प्रमुख समेतक परिवर्तनलाई नागरिक उन्मुक्तिका सांसदहरू भने यसअघिको सहमति कार्यान्वयन गरिएको बताउँछन् ।

‘केही दिन पहिले काठमाडौंमा मन्त्री बन्नेहरूले दलको जिम्मेवारी त्याग्नुपर्ने सहमति भएको थियो । सोहीअनुसार संसदीय दलको नेता र प्रमुख सचेतकको जिम्मेवारी हेरफेर भएको हो’, प्रमुख सचेतकबाट हटेका लक्ष्मणकिशोरले भने, ‘हेडक्वाटरमा भएको सहमतिअनुसार जिम्मेवारी हेरफेर भएको हो ।’

उनले आफू र संसदीय दलको नेता रहेका रामेश्वर मन्त्री बन्ने भएपछि पार्टी केन्द्रको सल्लाह र यसअघिको बैठकको निर्णयानुसार दलको नेता र प्रमुख सचेतक फेरिएको बताए ।

आजको बैठकमार्फत सचेतकको जिम्मेवारी पाएका कैलाश चौधरीले पनि यसअघि भएको सहमतिका आधारमा आज निर्णय गरिएको बताए । सरकार विस्तार हुँदा नै नागरिक उन्मुक्तिले दुई मन्त्रालय र एक राज्य मन्त्री पाउने सहमति गरेको भन्दै ती दुई मन्त्रालयमा जिम्मेवारी पाउने नेताहरूको जिम्मेवारी हेरफेर गरिएको उनले जानकारी दिए ।

संसदीय दलको नेता परिवर्तन गर्न बसेको बैठकमा लक्ष्मणकिशोर, धनश्याम, खुसीराम चौधरी र कैलाश चौधरी उपस्थित थिए । इन्दिरा गिरी बैठकमा उपस्थित भए पनि हस्ताक्षर गरिनन् । रामेश्वर चौधरी र टीका थापा बैठकमा उपस्थित थिएनन् ।

आफ्नो उपस्थिति नभएको बैठकमा आफ्नो जिम्मेवारी खोसेको विषयले रामेश्वर रुष्ट रहेको स्रोतको दाबी छ । आज बैठक बस्नुअघि रामेश्वरले घनश्याम चौधरीलाई फोन सम्पर्कसमेत गरेका थिए । उनले तत्काल त्यस्तो निर्णय नगर्न आग्रह गरेको स्रोतको दाबी छ ।

घनश्यामले भने भद्र सहमति कार्यान्वयन गर्न र संसदीय दलको नेताकै उपस्थितिमा बैठक बसाउन उनलाई आग्रह गरेका थिए । घनश्यामको आग्रहपछि पनि रामेश्वर बैठकमा नआएपछि उनको उपस्थितिविना नै दलको नेता परिवर्तन गरिएको हो ।

हिजो नै दलको नेता परिवर्तन गर्ने गृहकार्य अन्तिम चरणमा पुगेको थियो । लक्ष्मणकिशोर र खुसीराम प्रदेशसभामा पुगिसकेका थिए । तर, कैलाश चौधरी उपस्थित नहुने र बहुमत नपुग्ने भएपछि आज बैठक राखेर उक्त निर्णय गरिएको हो ।

आजको निर्णयले नागरिक उन्मुक्तिमा विवाद चर्किने देखिन्छ । दुई मन्त्रालय पाएको अवस्थामा आजबाट जिम्मेवारीविहीन भएका रामेश्वर र लक्ष्मणकिशोर मन्त्री बन्नेछन् । एउटा मन्त्रालय पाएको अवस्थामा फेरि दुईबीच मन्त्रीका लागि प्रतिस्पर्धा हुने देखिन्छ ।

अहिले चार मन्त्रालय मन्त्रीविहीन छन् । माओवादी केन्द्रले तीन मन्त्रालयको दाबी गरिरहेको छ । यस्तो अवस्थामा नागरिक उन्मुक्तिले एकै मन्त्रालयमा मात्रै पनि चित्त बुझाउनुपर्ने हुनसक्छ । यहाँ नागरिक उन्मुक्तिमा सात सांसद छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *