स्वर्णिमलाई अर्थमन्त्रीको जवाफः एकै पटक शल्यक्रिया गर्दा अर्थतन्त्र बिग्रिन्छ (भिडिओ)

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मात्रै चालु पुँजी खर्च गर्नेकुराको अन्त्य गर्ने बताएका छन् ।
बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले वर्षको नौ महिनासम्म पुँजी खर्च नगर्ने र अन्तिम तीन महिनामा मात्रै खर्च गर्ने परिपाटी अन्त्य गर्ने बताए । उनले अर्थतन्त्रमा रहेका वर्तमान समस्या समाधान गर्नसके वदेशी लगानी बिस्तार हुने भन्दै विदेशी लगानीहरु पनि निश्चित क्षेत्रमा मात्रै कार्यान्वयन गर्नेकुरा आफ्नो प्राथमिकतामा रहेको बताए । वैदेशिक लगानीका सीमाहरु फराकिलो बनाउनुपर्ने आवश्यक्ता रहेको उनको भनाइ छ ।

उनले भने, ‘अन्तिम त्रैमासिकमा खर्च गर्ने र नौ महिनासम्म सुतेर बस्नेकुरा अब हुँदैनन् । त्यसलाई हामी अब एक किसिमबाट समाधान गर्छौं । त्यो भयो भने विदेशी सहयोग बिस्तार गर्ने ठाउँ रहन्छ । विदेशी सहयोग पनि निश्चित क्षेत्रमा जहाँ धेरै ठूलो माग छ, आयोजना कार्यान्वयनहरु जहाँ माग छ, उनीहरुको निश्चित क्षेत्रमा उनीहरुले खर्च गर्नेछन् । ती सीमाहरुका कारण हाम्रो राजश्व फराकिलो बनाउनुपर्ने आवश्यक्ता छ । फराकिलो भनेको कागती निचारेझैँ निचोरेर त हुँदैन, त्यसकारण अर्थतन्त्रलाई नै चलायमान बनाउनु पर्छ । त्यसको आधारलाई फराकिलो बनाउनुपर्छ । फराकिलो बनाउन लगानीमैत्री वातावरण बनाउनुपर्छ । लगानी गर्नुहोस्, नियम छ, कानून छ, नियम, कानून पालना गरेर तपाईले उत्पादन, उद्योग व्यवसाय बढाउनु भयो की भएन भन्नेकुरा हामी हेर्नेछौँ ।’

अर्थमन्त्री महतले आफ्नो पूरा कोशिस लगानीका वातावरण सिर्जना गर्नका लागि रहेका व्यवधानहरु खोल्नु रहेको बताए । उनले संसदमा अहिले अर्थतन्त्रको पूरा सल्यक्रिया गर्नुपर्ने माग उठिरहेको भन्दै सबै ठाउँमा सर्जरी एकै पटक गर्दा अफ्ठ्यारो हुने बताए ।

संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको सम्पूर्ण शल्यक्रिया गर्नुपर्ने धारणा राखेका थिए । सोही विषयको जवाफमा अर्थमन्त्री महतले अर्थतन्त्रको शल्यक्रिया एकैपटक गर्दा अर्थतन्त्रको समस्या समाधान गर्न नसकिने बताएका हुन् ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको वृहत आर्थिक परिसूचकहरुले अर्थतन्त्र प्रतिकुलतातिर गैरहेको देखाइरहेको समयमा आगामी आर्थिक बर्षको बजेटको समेट्नुपर्ने बताएका छन् । मुलतः उद्योग, निर्माण र व्यापार क्षेत्रमा देखिएको संकुचनले पछिल्ला तीन त्रैमासमा अर्थतन्त्र ऋणात्मक रहेको राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांक छ । यसले मुलुक मन्दीतर्फ उन्मुख भैरहेको बताए ।

ढकालले भने, ‘म प्रतिकुलतामा सम्भावना खोज्ने व्यक्ति हुँ । तीन त्रैमासमा अर्थतन्त्र ऋणात्मक भएपनि यस बर्ष १।८६ प्रतिशत वृद्धि हुने प्रक्षेपण कार्यालयको छ । केहि व्यवस्थापकीय, केहि नियामकीय समस्या छन । राजनीतिक अस्थिरता र शुसासनको अभाव छ । सबैभन्दा ठूलो कुरो निजी क्षेत्रमाथिको विश्वास एकदमै न्युन छ । कुल गार्हस्थ्य उत्पादनमा निजी क्षेत्रको भूमिका ८१ प्रतिशत छ । राजश्व संकलन र रोजगारीमा पनि निजी क्षेत्रको त्यति नै हिस्सा छ ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *