उत्कृष्ट प्रदर्शन गरिरहेका सन्दीप र भीम मासिक पारिश्रमिकबाट यसकारण वञ्चित

काठमाडौं । नेपाली क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने मैदानमा लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । हालै सम्पन्न एसीसी प्रिमियर कपमा उनी म्यान अफ द सिरिजसमेत बनेका थिए ।

सन्दीप लामो समयदेखि नेपाली टिमको प्रमुख खेलाडीका रुपमा रहेका छन् । तर, अहिले उनी नेपाल क्रिकेट संघको ‘सेन्ट्रल कन्ट्र्याक्ट’ मा छैनन् । सेन्ट्रल कन्ट्र्याक्टमा नभएका खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान) ले मासिक तलव दिँदैन ।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार क्यानले नेपालका प्रमुख क्रिकेट खेलाडीहरुलाई तीन वटा वर्गमा राखेर उनीहरुसँग सम्झौता गर्ने गरेको छ । पछिल्लोपटक गत माघ १८ गते क्यानले खेलाडीको वर्गीकरण गरेको थियो ।

पुरुष टिमतर्फ १८ जनालाई ए, बी र सी ग्रेडमा समेटिएको छ । ग्रेड ए मा५ जना, बी मा ३ जना र सीमा १० जना खेलाडीहरु रहेका छन् ।
ग्रेड एमा रहेका खेलाडीहरुले मासिक ६० हजार, बीले ५० हजार र सीले ४० हजार मासिक तलव पाउने व्यवस्था छ ।

वर्गीकरणमा नरहेका खेलाडीहरुले यसरी मासिक तलव पाउँदैनन् । अहिले राष्ट्रिय टिमबाट खेलिरहेकामध्ये सन्दीप र भीम सार्की क्यानको वर्गीकरण बाहिर छन् । उनीहरु फरक फरक कारणले सेन्ट्रल कन्ट्राक्टमा नरहेका हुन् ।

सन्दीपमाथि फौजदारी मुद्दा परेर पक्राउ पूर्जी जारी भएपछि गत भदौ २३ गते क्यानले उनलाई टिमबाट निलम्बन गरेको थियो । असोज २० गते सन्दीप त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । जिल्ला अदालतको अदालतको आदेश उल्टाउँदै पुनरावेदन अदालत पाटनले सन्दीपलाई रिहा गर्न आदेश दियो । त्यस बमोजिम सन्दीप पुस २९ गते थुनामुक्त भए ।

पोखरामा बसेको क्यानको कार्यसमिति वैठकले माघ १७ गते सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गर्यो । तर, त्यसकै भोलिपल्ट गरिएको खेलाडीको वर्गीकरणमा भने उनलाई समावेश गरिएन ।

क्यानका म्यानेजर विनोद दास अदालतमा विचाराधीन मुद्दा र त्यसले उत्पन्न परिस्थितिका कारण सन्दीपलाई सेन्ट्रल कन्ट्राक्टमा नराखिएको बताउँछन् ।‘अदालतमा मुद्दा खेपिरहेको भएर नै उनी वर्गीकरणमा नपरेका हुन्,’ उनले भने, ‘त्यसबेलाको माहोल पनि त्यस्तै थियो ।’

सन्दीप थुनामुक्त भए पनि उनलाई क्रिकेट खेल्न दिनु नहुने आवाज केही व्यक्ति र समूहले उठाएका थिए । महिलावादी अभियन्ताले सन्दीपविरुद्ध माइतीघरमा प्रदर्शनसमेत गरेका थिए । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई सन्दीपलाई टिममा नराख्न तीव्र दवाव दिएका थिए ।

तर, क्यानले बोल्ड डिसिजन लिँदै सन्दीपलाई टिममा कमब्याक गराएको हो । सन्दीपको कमब्याक नेपाली टिमका लागि निकै फाइदाजनक रह्यो । नेपालले लिग २ का पछिल्ला १२ मध्ये ११ खेलमा जित हात पार्दा प्रत्येक खेलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी लिग २ मा सर्वाधिक विकेट लिने खेलाडीहरुको सूचीमा दोस्रो भएका छन् ।

तर, सन्दीपलाई टिममा राखे पनि उनलाई सेन्ट्रल कन्ट्र्याक्टमा भने समेटिएको छैन । क्यानले गरेको वर्गीकरण जनवरीदेखि जूनसम्मका लागि हो । क्यानका म्यानेजर दास ६ महिनामा वर्गीकरणको पुनरावलोकन हुने बताउँछन् ।

‘६ महिनासम्म यसलाई हेरफेर गर्न मिल्दैन, अब जूनमा फेरि रिभ्यू हुन्छ,’ उनले भने । सन्दीपले अदालतबाट सफाइ पाएको खण्डमा जुनमा फेरि वर्गीकरणमा समेटिन सक्ने उनको भनाइ छ ।

भीम पनि बाहिर

अहिले राष्ट्रिय टिमबाट उत्कृष्ट प्रदर्शन गरिरहेका भीम सार्की पनि सेन्ट्रल कन्ट्राक्टमा छैनन् । क्यानले खेलाडी वर्गीकरण गरेको बेला अन्तर्राष्ट्रिय म्याचमा भिमको प्रदर्शन खासै उल्लेख्य थिएन । उनी टिमका नियमित सदस्यसमेत थिएनन् ।

विश्वकप लिग २ का पछिल्ला केही म्याचहरुदेखि भिम चम्किन थालेका हुन् । उनले अहिले प्लेइङ ११मा ज्ञानेन्द्र मल्लको स्थान लिइरहेका छन् । अर्को पटकको वर्गीकरणमा भिम समेटिने निश्चितप्राय छ ।

सेन्ट्रल कन्ट्राक्टमा नरहेका खेलाडीहरुले क्यानबाट ‘म्याच फि’ मात्र पाउँछन् । अन्तर्राष्ट्रिय म्याच खेल्दा प्रतिखेल केही रकम टिममा रहेका खेलाडीलाई दिइन्छ । टि–२० र एकदिवसीय अलग्गै शुल्क तोकिएको छ ।

Comments

4 responses to “उत्कृष्ट प्रदर्शन गरिरहेका सन्दीप र भीम मासिक पारिश्रमिकबाट यसकारण वञ्चित”

  1. bharat kumar Thapa Avatar

    कांग्रेस माओवादीहरू किन हो सन्दीप का बिरूद्धमा थिए अनि गगन ।

  2. Tej bohara Avatar
    Tej bohara

    गगन थापा सन्दीप विरुद्ध थिए । सबै बुझौं उनी भारतीय दलाल हुन । रअ एजेन्ट हुन ।

  3. Jalan budha Chhetry Avatar
    Jalan budha Chhetry

    गगने बाख्रा चोर यो यसलाइ झापड लगाउनु पर्छ सन्दिप जस्तो देशको गहना बिरुद्ध लाग्नी

  4. Babu Ram Nepali Avatar
    Babu Ram Nepali

    बलात्कारी सम्मिलित,टीमलाई मेरो पनि बहिस्कार ! त्यो नीच लाई टीममा राखेर विश्वकप नै जिते पनि मैले खुशी मनाउने छैन ! #RageAgainstRape

Leave a Reply

Your email address will not be published. Required fields are marked *