झापामा हात्ती आतंक नियन्त्रणका लागि बजेट व्यवस्था गर्न विश्वप्रकाश शर्माको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापामा हात्ती आतंक नियन्त्रण हुनेगरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

महामन्त्री शर्माले झापाको खारखोलामा हालसालै मात्रै पनि हात्तीको आक्रमणमा परी ७० वर्षीय ज्येष्ठ नागरिक भिमलाल भट्टराईको ज्यान गएको उल्लेख गर्दै सो जिल्लालाई हात्ती आतंकबाट मुक्त गराउने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै महामन्त्री शर्माले पीडित भट्टराई परिवारलाई तत्काल राहतको व्यवस्था गर्न पनि सरकारसँग माग गरे । उनले मेची नदीको तटबन्ध निर्माण गर्न पनि विशेष व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

‘यहाँ निर्वाचित हुनु भएको निर्वाचन क्षेत्र बुद्धशान्ति गाउँपालिकामा पर्दछ । त्यो गाउँपालिकाको वडा नम्बर ५ स्थित खारखोला अहिले शोकमा छ । करिव ७० वर्षका भिमलाल भट्टराई हात्तिको आक्रमणमा मारिनु भएको छ । केही समय यता त्यो गाउँमा हात्ति आतंक मच्चिरहेको छ । यो वर्ष त्यो वडामा ३ जना मारिएका छन्’, सांसद शर्माले भने, ‘गत वर्ष १७ वर्षका युवा हात्ति धपाउन जाँदा सर्पले टोकेर उनको मृत्यु भयो । करिव ६ महिनाअघि मंगलबारे बजार सम्झना श्रेष्ठको पनि हात्तिको आक्रमणबाट ज्यान गयो । बेहुलाबेहुली नै हात्तिको आक्रमणमा परेर ज्यान पनि गएको छ । यो कुरा मैले यसकारण उठाएको हुँ । ताजा घटना हो यो । यही बेला सरकार आगामी वर्षको बजेट निर्माणको क्रममा छ ।’

हात्तीको समस्या दुई खालको रहेको उल्लेख गर्दै शर्माले एउटा खुला सीमा भएको कारण पश्चिम बंगालबाट हुलकाहुल भित्रिने हात्तीहरु र दोस्रो स्थानीय जंगलमा रहेका रैथाने हात्तीहरु रहेको बताए ।

सुशील कोइराला प्रधानमन्त्री रहेको बेला सरकारले विश्व बैंकको लगानीमा १८ किलोमिटर सोलार सिष्टम निर्माण गरेको बताउँदै उनले त्यसले केही समय काम गरेको तर धान्न छोडेको बताए ।

‘यहाँमार्फत म नेपालको सरकारको फरकफरक मन्त्रालयहरुलाई केही अपिल गर्न चाहन्छु । मेची नदीको तटबन्धमा विशेष प्राथमिकताका साथ बजेट छुट्टयाउन सिँचाई मन्त्रालयलाई, मौरीका लागि बजेट छुट्टयाउन कृषि मन्त्रालयलाई अनि, राहतको रकम अनिवार्य दिने व्यवस्था मिलाउन वन मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने, ‘त्यहाँका मानिसहरुको भनाई छ कि बाहुँनडाँगीलाई दुख्दै गर्दाखेरी काठमाडौंलाई किन दुखिरहेको छैन ? जति ध्यान राज्यको पुग्नु पर्दथ्यो ? त्यो किन पुगिरहेको छैन । त्यहाँको प्रतिनिधिको नाताले म यो विषयलाई राज्यको विशेष प्राथमिकतामा राख्नका लागि, दर्जनौंको मृत्य भएपछि राज्यको आँखा खुल्नका लागि विनम्र आग्र्र्र्र्रह गर्न चाहन्छु ।’

महामन्त्री शर्माले झापामा मौरी पालनका लागि पनि बजेटको विशेष व्यवस्था गर्न सरकारसँग माग गरे ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *