रविका चालक दुर्घटनावस छतबाट खसेको प्रहरीको प्रारम्भिक निश्कर्ष, स्वास्थ्यमा सुधार आएन

काठमाडौं । घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको स्वास्थ्यमा सुधार हुन सकेको छैन । उनी १० दिनदेखि निरन्तर भेन्टिलेटरमै छन् ।

चितवनमा रविको अढाइ तल्ले घरबाट खसेपछि उनी अचेत बनेका थिए । टाउकोमा चोट लागेका उनलाई सुरुमा चितवनको पुरानो मेडिकल अस्पतालमा उपचार भएको थियो । भोलिपल्ट हेलिकोप्टरमा राखेर काठमाडौं ल्याई ललितपुरस्थित मेडिकल कलेजमा राखिएको छ । अस्पताल स्रोतका अनुसार उनलाई आइसीयूमा भेन्टिलेटरसहित उपचार भइरहेको छ ।
थापा पूर्णरुपमा अचेत छन् । स्वास्थ्य अवस्थामा खासै सुधार नदेखिएको अस्पताल स्रोतको भनाइ छ ।

‘यहाँ ल्याउँदा नै कोमाको अवस्थामा हुनुहुन्थ्यो । अहिले पनि कुनै सुधार देखिएको छैन । केही भन्न नसकिने अवस्था छ,’ स्रोतले भन्यो ।

चालक थापा कसरी घरको छतबाट खसे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । अढाइतल्ले घरको माथिल्लो तल्लामा रहेको कोठामा रास्वपा महामन्त्री डा. मुकुल ढकालका सवारीचालकसँगै थापा सुतेका थिए । उनीहरु दुवैले सुत्नुअघि मदिरा सेवन गरेको पुष्टि भएको छ ।

प्रहरीले घटना भएको दिन उनीसँग सुतेका डा. मुकुल ढकालका चालकसहित केहीको पोलिग्राफ लिइरहेको छ । जिल्ला प्रहरी प्रमुख रामेश्वर कार्कीले अहिलेसम्मको अनुसन्धानमा दुर्घटनाजस्तो देखिएको बताए ।

‘घरमै सेक्युरिटी गार्ड र नजिकै प्रहरी विट छ । थापाजी खस्नु भएको लगभग १५ सेकेन्डमै हामी त्यहाँ पुगेका छौँ’, एसपी कार्कीले भने । घटना भएको रात रवि र उनको परिवार अढाई तले घरको भुईं तलामा सुतेका थिए । रास्वपा केन्द्रीय सदस्य दीपक बोहरा र उनको परिवार पहिलो तलामा रहेको प्रहरीले जनाएको छ ।

‘उहाँहरु अबेरसम्म मदिरा सेवन गरेर सुत्नु भएको रहेछ । कतै बेहोसीमा बाहिर निस्कँदा शरीर अनियन्त्रित भएर खस्नुभयो कि भन्ने आशंका गर्ने ठाउँ छ,’ एसपी कार्कीले भने।
थापालाई नजिकबाट चिन्नेहरुले उनी कहिलेकाहीँ राती सुत्दा एउटा खाटमा र बिहान उठ्दा अर्कै खाटमा देखिने गरेको पनि बताएका छन् । प्रहरीले आवश्यक परे रवि लामिछाने र दीपक बोहराको पनि पोलिग्राफ लिइने तर अहिले त्यो अवस्था नदेखिएको जनाएको छ ।

प्रहरीले डा. मुकुल ढकालका चालकसँग भने तत्कालै सोधपुछ गरेको थियो । उनले आफूलाई घटनाका विषयमा पछि मात्रै थाहा भएको बताएका छन् । ती चालकको भनाइ उद्वृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘म निदाइरहेको थिएँ, उठेर बाहिर निस्किएको थाहा पाइनँ ।’

उनको भनाइमा शंका गर्ने ठाउँ नभेटिएपछि प्रहरीले छाडेको थियो । चालक थापाका दुई सन्तान छन् । आर्थिक अवस्था सामान्य भएका उनको उपचार खर्चको दायित्व रास्वपा सभापति लामिछानेले नै लिएका छन् । उनले परिवारलाई खर्चको जिम्मेवारी आफूले लिने भन्दै चिन्ता नलिन आग्रह गरेको स्रोतले बतायो ।

Comments

One response to “रविका चालक दुर्घटनावस छतबाट खसेको प्रहरीको प्रारम्भिक निश्कर्ष, स्वास्थ्यमा सुधार आएन”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    रवीको काम गर्ने लाई सबै खर्च उनैले ब्यहोर्नु पर्छ अरू कसले ब्यहोर्छ र।

Leave a Reply

Your email address will not be published. Required fields are marked *