समाधि गृह फोडेर फलामे वस्तु चोरी हुन थाल्यो

झापा । कमल गाउँपालिका–५ गेउरियास्थित किराँत समुदायको समाधिस्थलबाट फलामजन्य वस्तुहरू चोरी हुन थालेको छ ।

दर्जनौँ समाधि गृहका झ्याल र ढोका फोडेर फलामका रड र गृलहरू राति चोरी हुन थालेको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष कमन देवानले बताए ।

उनले किराँत समुदायको आस्थाको धरोहरको रूपमा रहेका समाधिस्थलको सुरक्षा गरिदिन स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षण गरिएको जानकारी दिए।

उनले स्थानीय सरकारको समेत यस विषयमा ध्यानाकर्षण हुनुपर्ने बताउँदै भने, “समाधिस्थलका गृहहरू यसरी काटेर लैजाने घटना नयाँ समस्याका रूपमा देखा पर्यो । स्थानीय सरकार, सरोकारवाला र सम्बन्धित पक्षहरूले बेलैमा ध्यान दिऔँ ।”

पितृ पुर्खालाई समाधिस्थ गरिएको स्थानमा राति राति तोडफोड गर्ने र फलामजन्य वस्तुहरु चोरेर लैजाने गिरोह सक्रिय भएको पाइएको जनाउँदै उनले यस्तो गलत कार्य गरिरहेकालाई नियन्त्रणमा लिएर कारवाही गरिनुपर्ने माग गरे ।

रतुवामाई वृक्षरोपण आयोजनाको पश्चिम कुनामा रहेको गेउरिया समाधिस्थल झापामा सबैभन्दा ठूलो मानिन्छ । यहाँ हजारौँ व्यक्तिको समाधि छ । किराँतीहरूले आफ्नो परिवारका सदस्यको मृत्यु हुँदा जङ्गल वा खोला किनारमा लगेर माटोमा समाधिस्थ गर्ने परम्परा छ ।

गेउरियामा करिब डेढ बिघा क्षेत्रफलमा राई, लिम्बू, गुरुङ, शेर्पा, मगरलगायतको समाधि राखिँदै आएको छ । समाधिस्थलमा कङ्क्रिटको चिटिक्क परेका साना साना घर निर्माण हुने गरेका छन् । एकै ठाउँमा हजारौँ समाधि रहेकाले त्यो जङ्गल क्षेत्र समाधि बस्ती जस्तै बनेको छ ।

कमल–५ का वडाध्यक्ष लालबाबु बिष्टले समाधि गृहबाट सामान चोरी भएको कुनै जानकारी नआएको बताए । समाधिस्थललाई व्यवस्थित र सुरक्षित गर्नका लागि निश्चित क्षेत्रमा तारको घेराबेरा गर्ने कार्य चालु आर्थिक वर्षभित्रै गरिसक्ने उनले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *