आर्थिक संकट हटाउन बाँदर निर्यातको प्रस्ताव, पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एड्स

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधान गर्न बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव मंगलबार प्रतिनिधिसभा बैठकमा राखे । उनले अष्ट्रेलियाले पनि राष्ट्रिय जनावर कंगारु लाखौंको संख्यामा मारेको र छाला निर्यात गरेको दृष्टान्तसमेत दिएका थिए ।

गुरुङले भने, ‘श्रीलंकाले हालसालै एक लाख बाँदर निर्यात गर्ने निर्णय गरेको छ । हाम्रा गाउँहरुमा पनि अहिले बाँदर आतंक मच्चिएको छ । हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला ?’

किसानले बाँदर आतंकबाट भोगिरहेको समस्यालाई हेर्दा गुरुङले ठीकै बोले कि झैं लाग्नसक्छ । गएको स्थानीय तहको निर्वाचनमा बाँदर आतंकबाट आजित गुल्मीका किसानहरुले त बाँदर लखेट्ने उपाय दिने उम्मेदवारलाई भोट दिनेसमेत बताएका थिए । मालिका गाउँपालिका गुल्मीका किसानहरु मकै छर्ने बित्तिकै बाँदरबाट आजित भएपछि स्थानीय चुनावको बेलासमेत उम्मेदवारहरुसँग बाँदर धपाइमाग्न पुगेका थिए । जसले बाँदर धपाउँछ, उसैलाई भोट दिने भनेरसमेत लागेका थिए ।

मालिका गाउँपालिकाका किसानहरुले आफ्ना उम्मेदवारलाई गरेको आह्वानले पनि उनीहरु बाँदरबाट कति आजित छन् भनेर पुष्टि गर्र्छ । गुल्मीकै सत्यवती गाउँपालिकाका किसानहरु २०७६ सालमा बाँदरबाट कतिसम्म आजित भएका थिए भने उनीहरुले लगाएका मकै, आलु, गहुँलगायत अन्न घरमै आएर बाँदरले खाइदिएका थिए । तनहुँको म्याग्दे गाउँपालिकाका किसानहरु बाँदरबाट आजित भएर २०७७ सालमा जंगलमै फलफूल खेती गर्न बाध्य भएको समाचार बाहिरिएको थियो । उनीहरुको यो समस्याको पूर्ण रुपमा निरुपण भइसकेको अवस्था छैन । उनीहरु अहिले पनि बाँदर आतंकबाट पीडित नै छन् ।

तर, उसपभापति गुरुङले भने जस्तो बाँदर निर्यात गरेर समस्या समाधान होला त ? उनले त अझ अगाडि बढेर बाँदर निर्यातबाट अर्थतन्त्र उकास्ने कुरासमेत गरेका छन्, जसको सामाजिक सञ्जालमा ट्रोल भइरहेको छ ।

बाँदर निर्यात गर्ने कुरा गर्नुअघि यो तथ्य बुझ्नु जरुरी छ कि नेपालका अधिकांश बाँदर स्वस्थ छैनन् । २०७२/०७३ सालमा अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानमा पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआईभी/एड्सको संक्रमण देखियो ।

३९ मध्ये ३७ बाँदरमा क्यान्सर र एचआईभी/एड्सको संक्रमण देखिएको थियो । विश्वविद्यालयको अनुसन्धान टीमले पहिलो समूहमा १२, दोस्रोमा ११ र तेस्रोमा १६ बाँदरमा अध्ययन गर्दा यस्तो नतिजा आएको थियो । ३९ बाँदरमा १७ भाले र २२ पोथी थिए ।

त्यतिवेला अनुसन्धानकर्तालाई उद्धृत गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले भनेका थिए, ‘नेपालको पशुपति र स्वयम्भूका बाँदरहरु डराउँदैनन् । उल्टै मानिसलाई आक्रमण गर्न आउँछन् । यस्तो अवस्थामा मानिसलाई चिथोर्ने वा उसको शरीरमा भएको रगत मानिसमा सर्‍यो भने कुनै न कुनै समयमा त्यस्तो मानिसमा क्यान्सर, एचआईभी/एड्सलगायतका अन्य रोग सर्न सक्दछ ।’

बाँदरमा अनेक रोगको समस्या पशुपति र स्वयम्भूमा मात्रै नभएर अन्य ठाउँमा हुनसक्ने डा. पुनको अनुमान छ । बाँदरले किसानलाई मात्रै नभएर मान्छेको स्वास्थ्यमा पनि उत्तिकै समस्या पारिरहेको उनले बताए ।

डा. पुनका अनुसार अहिले पनि शुक्रराज ट्रपिकलमा बाँदरले टोकेका बिरामीहरु प्रायः दैनिक उपचारका लागि आइरहन्छन् ।

उनले नेपाल प्रेसलाई भने, ‘तर समस्या के छ भने त्योबारेमा सार्वजनिक रुपमा कस्तो खालको संक्रमण हो, बाँदरबाट सर्ने रोगका लागि के गर्ने भन्ने कुरा स्पष्ट छैन । कुनै निर्देशिकासमेत छैन । मैले कुरा उठाएको त थिएँ । तर, म एक्लैले उठाएको कुराको सुनुवाइ पनि भएन ।’

पुनका अनुसार बाँदरले टोक्नासाथ भाइरस मान्छेको शरीरमा छिर्छ । त्यसले स्वास्थ्यमा कतिसम्म असर गर्छ भनेर भन्न सकिँदैन । तर, कतिपय अवस्थामा बाँदरको टोकाइबाट खतरनाक रोगहरु लागेर गम्भीर समस्या उत्पन्न हुने पुनले बताए ।

श्रीलंकाले आर्थिक सुधारका लागि लोपोन्मुख बाँदर एक लाखसम्म चीन निर्यात गर्ने भनेर केही समयअघि त्यहाँका कृषिमन्त्रीले बताएका थिए । तर, श्रीलंका स्वयंले भने लगभग सबै प्रकारको जीवित जनावरको निर्यातमा प्रतिबन्ध लगाएको छ ।

श्रीलंकाले बेच्न चाहेको छोटो पुच्छर भएको बाँदर (टोक मकाक) श्रीलंकामा प्रशस्त पाइने बाँदर हो । तर, यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ(आईयूसीएन)ले भने संकटापन्न वन्यजन्तुको सूचीमा वर्गीकृत गरेको छ । श्रीलंकाले यसै वर्षमात्रै बाँदरका तीनवटा प्रजाति र बँदेल, मयूरलाई संरक्षित सूचीबाट हटाएको छ ।

तर, श्रीलंकाको बाँदर निर्यात गर्ने निर्णयप्रति भने पशु अधिकारकर्मीहरुले विरोध गरेका छन् । नेपालमा रहेका बाँदरमध्ये पनि आसामी रातो बाँदर र तराई खैरो लंगुर/हनुमान लंगुर खतराको नजिक रहेको रातो सूचीमा रहेको आईयूसीएनले उल्लेख गरेको छ । त्यस्तै नेपालमा पाइने रातो बाँदर र नेपाली खैरो लंगुर भने कम चिन्ता गर्दा हुने जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०१९ ले त आसामी रातो बाँदरलाई संरक्षित वन्यजन्तुको रुपमा सूचीकृतमात्रै गरेको छैन, शिकार गर्नै निषेध गरेको छ ।

प्रतिनिधिसभा बैठकमा उपसभापति गुरुङले राखेको प्रसंग कोट्याउँदा डा. पुन हाँस्दै भन्छन्, ‘त्यो त ठीकै छ । तर, संक्रमण नियन्त्रण त गर्नुपर्‍यो । बाँदरमा देखिएका रोगहरु मान्छेमा सर्दा त्यसले ठूलो असर गर्नसक्छ ।’

Comments

2 responses to “आर्थिक संकट हटाउन बाँदर निर्यातको प्रस्ताव, पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एड्स”

  1. इश्रवर कार्की Avatar
    इश्रवर कार्की

    पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआईभी/एड्सको संक्रमण भएको भए हालसम्म सबै बादर मरेको अवस्थामा पशुपतिको जंगलमा भेटिने थियो होला । तसर्थ स्याम्पल लिदा संयोग त्यस्तो परेको होला ।

  2. Bharat Gc Avatar
    Bharat Gc

    कालो काङ्रेसको दिमाग नै कालो भएकोले यस्तो भनेको हुन सक्छ।
    अन्यथा नलिदा हुन्छ। एस्तो पनि नेता हुन्छ..???
    देश बेचेर खाइसकेको हुँदा अब जङली जनावर पनि नछोड्ने विचारमा
    छन यिनीहरु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *