‘मिस्टर नेपाल २०२३’ को आवेदन खुला

काठमाडौं । नयाँ ‘मिस्टर नेपाल’ को खोजी सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्सले एक विज्ञप्ति जारी गर्दै मिस्टर नेपालको नयाँ संस्करण ‘मिस्टर नेपाल २०२३’ को आवेदन खुला भएको जनाएको हो ।

यस पटक मिस्टर नेपाल ‘न्यू लुक मिस्टर नेपाल’ को नामबाट आयोजना हुनेछ । प्रतियोगिता न्यूलुक ब्युटिफर लाइफले प्रायोजन गरेको कारण प्रतियोगिताको नामको अगाडि न्यूलुक राखिएको हो ।

नेक्स्ट मोडल्सले जारी गरेको विज्ञप्तिमा १६ देखि ३२ वर्ष ननाघेका युवाहरुले प्रतियोगिताका लागि आवेदन दिनसक्ने उल्लेख छ । प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ८ इन्च माथि उचाइ भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगिताको अडिसन बैशाख २९ गते दमकबाट सुरु हुनेछ । त्यसपछि ३० गते विराटनगर, ३१ गते जनकपुर, जेठ २ गते चितवन, ३ गते बुटवल, ६ गते पोखरा र १३ गते काठमाडांैमा आयोजना हुनेछ ।

नेक्स्ट मोडल्सले यस पटक कोशी प्रदेशमा रोनक अग्रवाल, मधेशमा विक्रम आदित्य महासेठ, लुम्बिनीमा प्रशान्त शाह र गण्डकीमा आशिष पुरी प्रदेश निर्देशक नियुक्त गरेको छ ।

प्रतियोगिताका विजेताले ‘मिस्टर वर्ल्ड २०२३’ वा ‘मिस्टर ग्लोबल २०२३’ मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् ।

देशैभरि छरिएर रहेका प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा, स्विमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइनेछ ।

प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।

नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले भने, ‘प्रतियोगिता विगतको भन्दा अझ भव्य बनाउन हामी लागिपरेका छौं । यस वर्ष ‘मिस्टर नेपाल’ नेपालमा आयोजना हुने सबै सौन्दर्य प्रतियोगिताभन्दा भव्य हुनेछ ।’

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले सन् २००१ देखि मिस्टर नेपाल नियमित आयोजना हुँदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *