दुई दिनभित्र नेपालमा उत्पादित सवारीसाधनको दर्ता र सञ्चालन समस्या हल हुन्छ : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपालमा उत्पादन भएका सवारीसाधन सञ्चालनमा देखिएको कानूनी जटिलता तत्काल समाधान गर्न पहल थालेका छन् ।

नेपालमा उत्पादित सवारीसाधनहरुको दर्ता र सञ्चालनमा लामो समयदेखि जटिलता रहँदै आएको थियो । कानूनी जटिलतालाई तत्काल हल गर्न यातायात व्यवस्था विभाग कार्यविधि निर्देशिका संशोधन हुने भएको छ ।

मन्त्री ज्वालाले सोमबार मातहतका कर्मचारी र सरोकारवाला निकायसँगको छलफलमा कार्यविधि संशोधन गर्न निर्देशन दिएका हुन् ।

‘दुई दिनभित्र नेपालमा उत्पादन भएका सवारीसाधनको दर्ता र सञ्चालनको समस्या हल हुन्छ’, मन्त्री ज्वालाले भने, ‘स्वदेशमै उत्पादन भएका सवारीसाधनलाई हामी प्रोत्साहन गर्छौं । तर, त्यसको सुरक्षा, सुलभ मूल्यमा होस् भन्नेमा हाम्रो चासो छ ।’

यात्रीलगायतले नेपालमा विद्युतीय मोटरसाइकल उत्पादन गर्दै आएका छन् । नेपालमा उत्पादित सवारीसाधनको परीक्षण पनि भइसकेको छ । तर, प्रज्ञापनपत्रको अभावमा दर्ता हुन सकेको छैन । प्रज्ञापनपत्रको सट्टा कर बिजक लिएर दर्ता गर्न मिल्ने व्यवस्था गरिएको छ ।

यातायात व्यवस्थाको कार्यविधिमा नेपालमा पनि सवारीसाधन उत्पादन हुन्छन् भन्ने आँकलन गरिएको छैन । २०५४ सालमा बनेको ऐन र कार्यविधिमा विदेशबाट खरिद भएका सवारीसाधनको दर्ता गर्ने व्यवस्थामात्रै गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *