काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र एसियाली विकास बैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नौड कौकोइसबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित आयोगको कार्यालयमा सोमबार एडीबी प्रतिनिधि र आयोग उपाध्यक्षबीच शिष्टाचार भेटवार्ता भएको हो ।
भेटमा उपाध्यक्ष डा. श्रेष्ठले आगामी दिनमा समेत सरकारलाई एडीबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे । नेपालमा उत्पादनमूलक र रोजगारी सिर्जना हुने परियोजनाहरुमा लगानी आवश्यक रहेको उनको भनाइ थियो ।
उनले सरकारले उत्पादन र रोजगारी दिने खालका कार्यक्रम ल्याउने र त्यस्ता परियोजनाहरुमा लगानी गर्न एडीबीसँग अनुरोध गरे ।
एडीबीका कन्ट्री हेड कौकोइसले हालै एडीबीले नेपालमा गरेको लगानीको पोर्टफोलियो रिभ्यु भएको जानकारी दिँदै सरकारले ल्याएका नयाँ परियोजनाहरुमा लगानी गर्न एडीबी तयार रहेको बताए ।
एडीबीले लगानी गरेका नेपालका विकास परियोजनाहरुको पोर्टफोलियो सुधारिएको उनले बताए ।
एडीबीले नेपालको भौतिक पूर्वाधारलगायतका क्षेत्रमा करिब चार खर्ब २१ अर्ब (३.२ विलियन) बराबरको लगानी गरेको छ । सन् २०२२ सम्ममा बैंकले ऊर्जा, यातायात, कृषि, खानेपानी, शहरी पूर्वाधार, सेवा क्षेत्र, ग्रामीण विकास र प्राकृतिक स्रोत, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा लगानी गरेको छ । गत वर्ष एडीबीले नेपाललाई २५ करोड ५० लाख अमेरिकी डलर बराबर ऋण लगानी गरेको थियो ।
पेर्टफोलियो रिभ्यु कार्यक्रममा एडीबीले शहरी खानेपानी तथा सरसफाइ आयोजना, बाग्मती नदी बेसिन सुधार, ग्रामीण उद्यम वित्तीय आयोजना र विद्युत प्रसारण तथा वितरण दक्षता अभिवृद्धि आयोजनालगायतलाई पुरस्कृतसमेत गरेको थियो ।
मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो त्रिशुली जलविद्युत आयोजनालगायतमा दर्जनौं आयोजनाहरुमा एडीबीले लगानी गरेको छ ।
भेटमा आयोगका उपाध्यक्ष श्रेष्ठ र सचिव केवलप्रसाद भण्डारीसँगै एडीबीका कन्ट्री डाइरेक्टर कौकोइस, प्रमुख अर्थशास्त्री जान हानसेन, वरिष्ठ कार्यक्रम अधिकृत अञ्जन पाण्डे र कार्यक्रम विश्लेषक सृजना राजभण्डारी सहभागी थिए ।

Leave a Reply