चितवन २- सीडीओ मतगणनास्थलमा उपस्थित नहुने, सुरक्षाको जिम्मा निर्वाचन अधिकृतलाई !

काठमाडौं । चितवनको क्षेत्र नम्बर २ मा अवरुद्ध मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठकमा सहमति भएको छ । केहीबेर अघि सकिएको बैठकमा तीन बुँदे सहमति भएको हो ।
निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले आचार संहिता उल्लंघन गरेको तथा प्रमुख जिल्ला अधिकारीले समेत एकपक्षीय निर्णयहरु लिएको भन्दै कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठका तर्फबाट हिजो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरिएको थियो । उक्त उजुरीसम्बन्धित व्यक्तिसँग (रवि लामिछानेलगायत) स्पष्टीकरण लिएर अन्तिम निर्णयका लागि केन्द्रीय निर्वाचन आयुक्तकोमा पठाउने पहिलो निर्णय भएको छ ।
चितवनका प्रजिअ पौडेल ।
दोस्रो निर्णयमा दिउसो १ बजेबाट मतगणना सुरुवात गर्ने भनिएको छ । तेस्रो बुँदामा प्रमुख जिल्ला अधिकारीको भूमिका अत्यधिक विवादास्पद रहेको भन्दै निजको सुरक्षा अधिकार नै खोस्नेगरी निर्णय भएको छ । जसअनुसार मतगणनास्थलमा सम्पुर्ण सुरक्षाको जिम्मा न्यायाधीश निर्वाचन अधिकृतको कार्यालयका प्रमुख वासुदेव न्यौपानेले लिने भएका छन् । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मतगणना स्थलमा अनुपस्थित रहने भनिएको छ ।
सर्वदलीय वैठकमा प्रजिअ पौडेल स्वयम् उपस्थिति थिए । बैठकमा निर्वाचन अधिकृत न्यौपानेले सुरक्षाको सबै जिम्मा आफूले लिने बताएको र त्यसमा प्रजिअले समेत सहमति जनाएको कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले जानकारी दिए । उनले नेपाल प्रेससँग भने, ‘उहाँ धेरै कुराहरुमा चुक्नुभएको छ । हामीले उठाएका विषयहरुको प्रत्यूत्तर उहाँले दिन सक्नुभएन । मतदानको क्रममा जति पनि अनैतिक कामहरु भएकाले हामीले उहाँलाई मतगणना स्थलमा नआउन भन्यौं । उहाँ त्यसमा सहमत हुनुभयो ।’

Comments

One response to “चितवन २- सीडीओ मतगणनास्थलमा उपस्थित नहुने, सुरक्षाको जिम्मा निर्वाचन अधिकृतलाई !”

  1. समिर Avatar
    समिर

    काङ्ग्रेस ,माओवादी आतंककारी झुन्डलाई अब चितवनबासिले बहिष्कार गर्नेछन् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *