काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिले राजनीतिक भद्रगोल हुनुको मुख्य कारक एमाले अध्यक्ष केपी शर्मा ओली भएको आरोप लगाएका छन् ।
पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीवादको सिद्धान्त म र मेरो फाइदा मात्रै भएको टिप्पणी गरे ।
‘हामीले बनाएको धेरै राम्रो पार्टीभित्र एउटा मुसल जन्मियो । यदुवंशी मुसल जन्मियो । त्यो ओलीवादको मुसल थियो । ओलीवाद भनेर मैले व्यक्तिगत कुरा गर्न खोजेको होइन । त्यो एउटा प्रवृत्तिको रूपमा हुर्कियो । त्यसमा विचार म हो, मेरा हो भन्ने भयो’, उनले भने, ‘मलाई जे गर्दा फाइदा हुन्छ त्यही गर्छु त्यही नै ओलीवादको सिद्धान्त हो । म विचार हो, मेरो फाइदा सिद्धान्त हो । मेरा समर्थकमात्रै असल हुन् अरु सबै शत्रु हुन् । यति भएपछि ओली प्रवृत्तिको मुसल तयार भयो ।’
नेता भुसालले थपे, ‘ओलीवादको यही कारणले ओली प्रवृत्तिका मानसपुत्र र तीनबाट जन्मेकाहरू सडकमा छन् । जब अनुशासनहीनता र मूल्यहीनताका बीचमा फन्टुसहरूका बीचमा झगडा हुन्छ वा प्रतिस्पर्धा हुँदा कसले जित्छ भन्दा सबैभन्दा फन्टुसले नै जित्छ । आज त्यही भएर सडकमा सबैभन्दा धेरै फन्टुसहरू नेता भएर हिँडिराखेका छन् ।’
संसद र पार्टी विघटन गरेर ओलीले देशको राजनीतिक भद्रगोल बनाएकै कारणले वैकल्पिक भन्नेहरु अहिले सडकमा देखिएको उनको भनाई छ ।

Leave a Reply