रुपन्देही । रुपन्देहीको आगन्तुक बचत तथा ऋण सहकारी संघ बन्द भएको छ । संकट परेको भन्दै मंसिर १७ गते सहकारी मर्जरमा गएको थियो ।
मर्जर गरेको भनेर बचतकर्तालाई ढाँटेका सञ्चालक कार्यालय बन्द गरेर बसेका छन् । मर्जर गरिएको दिन आगन्तुकसहित रुपन्देहीका ९ वटा सहकारी संस्थाले घोषणापत्र जारी गर्दै संकट टार्न मर्ज भएको र अब कुनै समस्या आउन नदिने घोषणा गरेका थिए ।
बुटवलमा रहेको आगन्तुक, भैरहवाको जनप्रिय बहुउद्देश्यीय सहकारी, सार्थक बहुउद्देश्यीय सहकारी, शाइन बहुउद्देश्यीय सहकारी, उपदेश बहुउद्देश्यीय सहकारी, उपकार बहुउद्देश्यीय सहकारीसँगै कपिलवस्तुको सुसन्देश बहुउद्देश्यीय सहकारी, नवलपरासीको शुभश्री बहुउद्देश्यीय सहकारी र बुटवलको वरदान बहुउद्देश्यीय सहकारीले आर्थिक संकट टार्न मर्जर प्रक्रियामा गएको जनाएका थिए ।
उनीहरुले साझा नाम ‘सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ को नाममा अघि बढ्ने गरी मर्जर प्रक्रियामा गएको जनाए पनि अहिले सञ्चालकहरुकै मनोमानीले त्यो प्रक्रिया पनि रोकिएको छ । त्यसमा जोडिएकामध्ये धेरै सहकारीको कारोबार संकटग्रस्त बन्दै गएको छ ।
बचतकर्ताले मर्जरमा गएका सहकारीका नेताहरुले नै गलत सन्देश दिएको र उनीहरु पनि सहकारी डुब्नुमा जिम्मेवार देखिएकाले छानबिन गर्न माग गरेका छन् ।
मर्जर घोषणा कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केपी उप्रेती, राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही सहकारी संघका अध्यक्ष भीम तुलाचन, राष्ट्रिय सहकारी बैंकका सञ्चालक माधवलाल देवकोटालगायतले सहकारी मर्ज भएको र अब कुनै समस्या नआउने दाबी गरेका थिए ।
तर, यहीमध्येको बुटवलको अमरपथमा प्रधान कार्यालय रहेको आगन्तुकको बचतकर्ताहरुलाई रकम फिर्ता गर्न नसकेपछि कार्यालय बन्द गरेर सञ्चालकहरु सम्पर्कविहीन भएको पीडितहरुले गुनासो गरेका छन् ।
अमरपथका बचतकर्ता पुरुषोत्तम खनालले दैनिक आम्दानी उक्त सहकारीमा जम्मा गर्दै आएकोमा सहकारीका सञ्चालक र व्यवस्थापक नै सम्पर्कविहीन भएपछि अन्येलमा परेको बताए । उनले रकम फिर्ता गर्न दैनिकजसो सहकारीमा पुगे पनि सधैं ताला लागेको सुनाए ।
अर्का बचतकर्ता राजेश पाण्डेले आफ्नो रकम पाउन नसकेको बताए । उनले सञ्चालकहरुलाई फोन गर्दा फोन नउठेको गुनासो गरे ।
बुटवलकै बचतकर्ता बुद्ध खनालले सहकारीमा जम्मा गरेको रकम निकाल्न नपाएको बताए ।
यसअघि बुटवलको योगिकुटी चोकमा रहेको शिव शिखर सहकारीका सञ्चालक भागेका थिए । कतिपय व्यक्तिहरुलाई सहकारीले रकम फिर्ता गर्न आफ्नो चेक दिएर पठाएको छ । तर चेक सटही हुन सकेको छैन ।
आगन्तुक सहकारीका सञ्चालक राजु घर्तीले भने आफू काठमाडौंमा रहेको र यसबारे पछि मात्र कुरा गर्ने जानकारी दिए । पछि बारम्बार सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् ।
बुटवल उपमहानगरपालिकाको सहकारी विभाग हेर्ने कर्मचारी गुणाखर खनालले यस सहकारीमा समस्या आएको बाहिर सुनिए पनि औपचारिक रुपमा कार्यालयमा कसैले निवेदन नदिएको बताए ।
सहकारीको मूल सिद्धान्तभन्दा बाहिर रहँदा अहिले आगन्तुक सहकारी समस्यामा परेको सहकारी अभियन्ता सन्दीप सापकोटाको भनाइ छ ।
प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष टीकाराम पोखरेलले प्रदेशमा दर्ता नभएका तर कार्यक्षेत्र बनाएर सञ्चालनमा आएका केही सहकारीमा समस्या देखिएको बताउँदै त्यसको नियमनका लागि बोर्डले काम गरिरहेको बताए ।
प्रदेशका सहकारी रजिस्ट्रार भीमप्रसाद तिवारीले पनि सहकारी नियमनमा केही समस्या भएको स्वीकार गरे ।

Leave a Reply