पोखरा । राष्ट्रका लागि संगीत अभियात्राको टीम पोखरा आइपुगेको छ । राष्ट्रको लागि संगीत अभियात्रा, जनसांगीतिक प्रस्तुतिअन्तर्गत पोखरामा मंगलबार हुने कार्यक्रमका लागि जनवादी गायकगायकिाहरु पोखरा आएका हुन् ।
पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार दिउँसो जनवादी गायकगायिकाहरुबाट जनवादी गीत प्रस्तुत हुनेछ । देशव्यापी अभियानका रुपमा सञ्चालन गरिएको कार्यक्रममा ‘सिमली छायाँमा बसी’, ‘झरनाको चिसो पानी’ लगायतका चर्चित गीतका गायक जीवन शर्मालगायतले प्रस्तुति दिनेछन् ।
कार्यक्रममा माधव प्रधान, मणि थापा, उदय श्रेष्ठ, ओम श्रेष्ठ, चिरन सी, कर्ण विद्रोही, निलिमा पुन, नारायण शर्मा, मोहित श्रेष्ठ, उदय रिजाल, रेश्मी बुढामगर, डम्बर भण्डारी, काजीबाबु श्रेष्ठ, विकास लुंगेली, नारायण दंगालको प्रस्तुति रहनेछ ।
सन्ध्या मगर, आकृति भण्डारी, कविता पुन, लक्ष्मण पाख्रिन, अनु शर्मा, लक्ष्मी केसीलगायतको समेत प्रस्तुति रहनेछ ।
गायक शर्माले निराश जनतालाई आशाको सञ्चार गराउन जनसांगीतिक अभियात्रा कार्यक्रम देशव्यापी अभियानका रुपमा लिएर हिँडेको बताए । ‘देश संकटमा पर्दा हामी चुप लागेर बस्नुहुँदैन । त्यसैले आशाको सञ्चार गराउन अभियात्रा अभियान लिएर हिंडेका हौं’, उनले भने ।
राष्ट्रका लागि संगीत अभियात्रा चैत ४ गते धनगढीबाट सुरु भएको थियो । उक्त अभियात्रा सबै प्रदेश हुँदै काठमाडौंको प्रज्ञा भवनमा बैशाख ५ गते समापन गरिनेछ ।

Leave a Reply