काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न जिल्लाबाट आन्दोलनका लागि आएका मिटर ब्याज पीडितलाई हिजो खुलामञ्चमा प्रवेश गर्न रोक्यो । महानगरको यो कदमलाई कतिपयले आलोचना गरिरहेका छन् ।
महानगरपालिकाका मेयर बालेन्द्र शाहले फेसबुकमा दुईवटा स्टाटस लेखेर यो विषयमा आफ्नो प्रष्टीकरण दिइसकेका छन् । खुलामञ्च सबैका लागि सधैँ खुल्ला रहने तर, यो आन्दोलनको तयारी शङ्कास्पद रहेको उनको भनाइ छ ।
बालेनले भनेका छन्, ‘खुलामञ्च निषेधित क्षेत्र होइन र हुने छैन, तर माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएका तयारीहरू शङ्कास्पद छन् ।’
‘शङ्कास्पद’ भनेर बालेनले के कुरालाई ईंगित गर्न खोजेका हुन् त ? निकट स्रोतका अनुसार आन्दोलनका नाममा पीडितहरूले धेरै दिनसम्म त्यहीँ अड्डा जमाउन सक्ने चिन्ता उनलाई छ । साथै, यो आन्दोलनमा राजनीतिक घुसपैठको आशंका पनि बालेनले गरेका छन् । वैद्य र विप्लव निकट माओवादीका व्यक्तिहरूले आन्दोलनको नेतृत्व गरेकोलाई उनले शंकाको नजरले हेरेका छन् ।
काठमाडौं महानगरका प्रमुख कार्यकारी अधिकृत वसन्त अधिकारी भने पीडितहरूले कुनै पूर्व जानकारी बिना एक्कासि खुलामञ्च प्रवेश गर्न खोजेपछि रोक्नुपरेको बताउँछन् ।
उनले नेपाल प्रेससँग भने, ‘उहाँहरू एक्कासि त्रिपाल बोकेर आउनुभयो । गेटमा आइपुगेर मात्र हामीलाई खबर गर्नुभयो । हामीले कति दिनका लागि हो भनेर सोध्दा जवाफ दिन सक्नुभएन । खुलामञ्च सबैका लागि हो, तर अनिश्चितकालका लागि त कसैलाई पनि ओगट्न दिन मिलेन नि ।’
अधिकारीका अनुसार नगर प्रहरीले उनीहरूलाई शान्ति बाटिकामा बस्न सुझाव मात्र दिएको थिएन, त्यहाँको सबै व्यवस्थापन महानगरले नै गरिदिने आश्वासनसमेत दिएको थियो ।
‘उहाँहरूको संख्यामा पनि त्यत्रो ठूलो होइन खुलामञ्च नै नभई नहुने । जम्मा ९० जना हुनुहुन्थ्यो । हामीले शान्ति बाटिकामा बस्नुस् भन्यौँ । यदि खुलामञ्च नै चाहिने भए यति दिनका लागि भनेर लिखित पत्र दिनुस् भन्यौँ । त्यो पनि उहाँहरूले मान्नु भएन,’ अधिकारीले थपे ।
महानगरले मिटरब्याज पीडितलाई खुलामञ्च उपबन्ध गराउन नसक्नुको तात्कालिक कारण चाहिँ आउँदो भोलि र पर्सी हुन गइरहेको न्यायिक सम्मेलन हो । प्रज्ञा भवनमा हुने सम्मेलनमा देशभरका ७५३ वटै स्थानीय तहका उपमेयर/उपाध्यक्षहरूले भाग लिनेछन् । यस क्रममा उपत्यकाबाहिरबाट ५–६ सय गाडी भित्रिन सक्ने अनुमान महानगरले गरेको छ । ती गाडीहरूलाई दुई दिनसम्म पार्किङ गर्न अन्यत्र सम्भव नभएकाले महानगरले खुलामञ्च खाली राख्न खोजेको हो ।
अधिकारीले भने, ‘न्यायिक सम्मेलनमा आउने गाडीहरू खुलामञ्चमा पार्किङ गर्न हामीले पहिल्यै तय गरिसकेका छौँ । तर, उहाँहरूको आन्दोलन कति दिन चल्ने हो भन्ने टुंगो भएन । त्यसैले हामीले अन्यत्र बस्न सुझाव दिएका हौँ ।’

Leave a Reply