तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृतका लागि विज्ञसँग छलफल

रुपन्देही । प्राचीन राजधानी कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि मनोनयन दस्तावेज तयार पार्ने कार्यलाई तीव्रता दिइएको छ ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोषले अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञहरुको कार्यशाला गरी विश्वसम्पदा सूचीमा सूचीकृतका लागि दस्तावेज तयार पार्ने कामलाई तीव्रता दिएको हो ।

शनिबार र आइतबार अन्तर्राष्ट्रिय विज्ञ डा. डंकन मार्सल (अष्ट्रेलिया), प्रा.डा. रविन कनिङहम (बेलायत), प्रा. डा.कियो निसिमुरा(जापान) सहित नेपालका तर्फबाट विज्ञहरु काई वाइजे, प्रा.डा. राजेश राई, डा. इनु प्रधान, सृष्टिना श्रेष्ठ, राजेन्द्र सुवाल, यनी जोशिको उपस्थितिमा मनोनयन दस्तावेजका लागि विधागत बिषयमा गहन छलफल गरिएको छ ।

मनोनयन दस्तावेजमा पुरातत्व विभागका पूर्वमहानिर्देशक कोषप्रसाद आचार्य र पुरातत्वविद् बसन्त विडारीले विज्ञहरुले निकालेको निष्कर्षमा सुझाव दिएका थिए । लुम्बिनी विकास कोषका प्रशासकीय अधिकृत ज्ञानिन राईको संयोजकत्वमा विश्वसम्पदा सूचीमा सूचीकृतका लागि मनोनयन दस्तावेजलाई अन्तिम रुप दिन विज्ञहरुसँग छलफल अगाडि बढाइएको छ ।

आइतबार विज्ञहरुको कार्यशालामा सरोकारवाला सरकारी निकायका प्रतिनिधि र सरोकारवालाहरुसँग पनि छलफल गरिएको छ । छलफलमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी)ले तिलौराकोटलाई विश्वसम्पदा सूचीमा जतिसक्दो चाँडो सूचीकृत गराउने गरी मनोनयन दस्तावेजलाई अन्तिम रुप दिन विज्ञहरुलाई आग्रह गरे ।

उनले तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृत हुँदा कपिलबस्तुको ऐतिहासिक र पुरातात्विक महत्व विश्वले चिन्ने बताए । हालसम्म गरिएका अध्ययन, अन्वेषण, बौद्धकालीन अवस्था उल्लेख गरेका तीर्थयात्रीहरुको भ्रमणजस्ता आधारले तिलौराकोट विश्व सम्पदा सूचीका लागि योग्य भइसकेको उपाध्यक्ष मैत्तयको भनाइ छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेले तिलौराकोटलाई विश्व सम्पदाका रुपमा चिनाउन आवश्यक रहेकाले विज्ञहरुलाई जतिसक्दो चाँडो प्रक्रिया अगाडि बढाउन आग्रह गरे । उनले कपिलबस्तु बुद्धको वंश रहेको र बुद्ध स्वयमले २९ वर्ष बिताएको ठाउँ रहेकाले तुरुन्त सम्पदा सूचीमा सूचीकृत गर्नुपर्नेमा जोड दिए ।

पुरातात्व विभागका महानिर्देशक दामोदर गौतमले विज्ञहरुबाट मनोनयनका लागि महत्वपूर्ण सुझावहरु आएको बताउँदै सीमा क्षेत्रका बारेमा प्रदेश सरकार, स्थानीय सरकार एवम् स्थानीयहरुको समेत सहयोग आवश्यक हुने बताए ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेशसुरस श्रेष्ठले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका आवश्यक प्रमाणहरु जुटाउने काम भइरहेको बताए । उनले सन् १९९६ सालमै तिलौराकोट सम्भाव्य विश्वसम्पदा सूचीमा रहेकाले सन् २०२४ सम्ममा सूचीकृत गर्ने र त्यसका लागि सबैको सहयोग आवश्यक पर्ने बताए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले सम्पदामा सूचीकृतका लागि कोषका तर्फबाट विदेशी विज्ञ मनोनित गरिसकेको बताउँदै स्थानीय रुपमा वातावरण अनुकुल बनाउने काममा स्थानीय सरकारको सहयोग हुनुपर्ने बताए । कार्यशालामा तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचिकृतका लागि कार्यतालिका, बिषयसूची, तिलौराकोटको विशेषता र अदितिय अनुपम विश्वव्यापी महत्वका बारेमा छलफल गरिएको कोषका प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए ।

छलफलमा लुम्बिनी प्रदेश प्रदेश प्रमुख कार्यालयका सचिव प्रल्हाद पोखरेल, युनेस्को जापान फन्ड इन ट्रष्टका कन्सल्ट्यान्ट नभा थापा बस्नेत, कपिलवस्तु नगरपालिकाका नगर उपप्रमुख सुनिता गुप्ता, वडाअध्यक्ष प्रकाश गैरेलगायतले बोल्दै तिलौराकोटलाई विश्व सम्पदाका रुपमा स्थापित गर्नसक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

छलफलमा कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), योजना प्रमुख सरोज भट्टराई, पुरातत्व प्रमुख हिमाल उप्रेती, सूचना अधिकृत राजन बस्नेत, कपिलवस्तु शाखा प्रमुख माधव प्रसाद आचार्यलगायतले सुझाव दिएका थिए । युनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विकस्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *