संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको नियुक्ति खारेजीको मागसहित सर्वोच्चमा मुद्दा

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानमा गरिएको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको सिफारिसमा प्रधानमन्त्रीले फागुन ३ गते संगीत-नाट्य प्रज्ञा–प्रतिष्ठानमा गरेको पदाधिकारी तथा सदस्यहरूको नियुक्तिमा प्रक्रियागत त्रुटि रहेको तथा अयोग्य व्यक्तिलाई नियुक्ति गरिएको भन्दै नियुक्ति खारेजीको माग गरिएको हो ।

नाटककार तथा निर्देशकद्वय जीवन थापा क्षितिज, किशोर अनुराग र नाट्यकर्मी रिता थापाले संयुक्तरूपमा रिट दायर गरेका हुन् । सोमबार दायर भएको रिटमाथि बिहीबार पहिलो सुनुवाइको क्रममा पूर्व महान्यायधिवक्ता रमेश बडाललगायतले अन्तरिम आदेश दिनुपर्ने माग गर्दै जाहेरवाला पक्षका तर्फबाट बहस गरेका थिए । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उक्त मुद्दामाथि कारण देखाऊ आदेशसमेत जारी गरेको छ ।

रिटमा नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान ऐन-२०६४ अनुसार गठित सिफारिस समितिमा ऐनबमोजिम संगीत तथा नाट्यका क्षेत्रमा राष्ट्रियस्तरमा ख्यातिप्राप्त व्यक्तिमध्येबाट दुईजनासहित संस्कृतिमन्त्रीको संयोजकत्वमा सिफारिस समिति गठन गरिनुपर्नेमा त्यस्तो व्यक्ति समावेश नगरिएको, विधागत समावेमावेशिता नभएको, महिलाको उचित कोटा नपुर्‍याइएको तथा योग्य व्यक्तिहरू नसमेटिएको जिकिर गरिएको छ ।

ऐनअनुसार राष्ट्रियस्तरमा एकजना नाट्य विधाका विज्ञ र एक जना संगीत विधाका विज्ञ हुनुपर्ने भन्दै सिफारिस समितिमा राखिएका राकेश किराती र गोपाल ठाकुरलाई राखिएको साथै कुलपतिमा नियुक्त निशा शर्माको योग्यतामाथि प्रश्नसमेत उठाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *