वन एक्स बेटका चार जना एजेन्टसँग ३ सय ४६ वटा सिमकार्ड (भिडिओ)

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वन एक्स बेटका माथिल्लो तहका एजेन्ट भएको आशंकामा ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकामध्ये ४ जनाको साथबाट प्रहरीले ३ सय ४६ वटा सिमकार्ड बरामद गरेको छ। उनीहरुले आफूसहित विभिन्न व्यक्तिका नाममा वालेट खोलेर कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा जुम्लाका २३ वर्षीय दिलिपसिंह कठायत, २३ वर्षीय भुपालराज न्यौपाने, १९ वर्षीय नयनराज भण्डारी, सर्लाहीका २८ वर्षीय बरुणकुमार सिंह, काठमाडौंका ३२ वर्षीय बासुदेव पाण्डे र काभ्रेकी २६ वर्षीया शिवानी तामाङ रहेका छन्।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीका अनु्सार कठायतको साथबाट एनसेलका ६३, एनटिसीको १९ र स्मार्टको १ गरी ८३ सिमकार्ड बरामद भएको छ। यस्तै न्यौपानेको साथबाट ९१ वटा एनसेल र ४७ एनटिसी गरी १ सय ३८ सिमकार्ड, भण्डारीको साथबाट एक सय १६ वटा एनसेल र ६ वटा एनटिसीसहित १ सय २३ वटा सिमकार्ड र सिंहको साथबाट २ वटा एनसेल सिमकार्ड बरामद भएको छ।

प्रहरीले लामो समयको अनुगमनपछि उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ। केसीले पक्राउ परेकाहरुले वालेट तथा बैंक खाताबाट हालसम्म ९ करोड ८ लाख १३ हजार एक सय ८ रुपैयाँ बेटिङ कारोबार गरेको बताए।

यस्तै विभिन्न ३५ जना व्यक्तिको नाममा खोलिएका डिजिटल वालेटबाट ४१ कराेड १५ लाख  बराबरको बेटिङ कारोबार भएको र विभिन्न १५ जना व्यक्तिको ३४ वटा बै्क खाताबाट १२ करोड २५ लाख ३५ हजार ९ सय ११ रुपैयाँको कारोबार भएको भन्दै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका सिंहले आफ्नै नाममा रहेका विभिन्न ४ वटा खाता र विभिन्न कम्पनीको नाममा खोलिएका ४ वटा बैंक खाताबाट कम्तिमा ८२ लाख ३२ हजार ७ सय ७० रुपैयाँको कारोबार गरेको पाइएको छ। कठायत, न्यौपाने र भण्डारीले कम्तिमा ७ करोड ७७ लाख ८७ हजार ३ सय २८ रुपैयाँको बेटिङ कारोबार गरेको दावी गरिएकव छ। यी सबै कारोबार पछिल्लो एक वर्षभित्र भएका हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *