बाँदर नियन्त्रण गर्न स्थानीय सरकार असफल, माओवादीले गुहार्‍यो केन्द्र सरकार

काठमाडौं । बाँदर आतंक रोक्न माओवादीले केन्द्र सरकार गुहारेको छ । माओवादी केन्द्र भोजपुरले ८१ वडाअध्यक्ष, ९ स्थानीय तह प्रमुख र प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई दबाबस्वरूप बाँदर आतङ्क नियन्त्रणका लागि ज्ञापनपत्र बुझाएको हो ।

बाँदरको उपद्रोका कारण पौवादुङ्मा गाउँपालिकाको बास्तिम र रामप्रसादराई गाउँपालिकाको दलगाउँलगायतका जिल्लाका केही टोल नै बसाइँ हिँड्नुपरेको छ । केही स्थानीय तहले बाँदर नियन्त्रणका लागि बजेट नै छुट्याउँदै आएका छन् । तर, बाँदरबाट क्षति उस्तै छ ।

बाली खानेमात्र नभई बाँदरले घरमासमेत आएर पाकेको भातको भाँडो बोक्ने, थाङ्ग्रा र बुइँगलमा थन्क्याइएको अन्नपात र सामानमा पनि क्षति पुगेपछि सरकार गुहारिएको माओवादी भोजपुरका नेता राजेश खतिवडाले बताए ।

जिल्ला समन्वय समितिका सचिव बलभद्र राईसहित प्रशासन पुगेका माओवादीका जिल्ला नेताले सरकारी तवरबाट बाँदर नियन्त्रण नगरिए स्थानीय किसानहरू बाँदर नियन्त्रण गर्न जस्तो सुकै कठोर कदम चाल्नसमेत बाध्य हुने र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने भन्दै ध्यानाकर्षण गराइएको छ ।

‘आम कृषकले दुःख र मेहनत गरी लगाएको / फलाएको बाली विभिन्न वन्यजन्तुको नोक्सानी र क्षतिबाट लामो समयदेखि मुख्यगरी ग्रामीण भेगका भोजपुरे किसानहरूले हैरानी खेप्दै आउनु परेको यथार्थ कहिबाट छिपेको छैन । जुनसुकै बाली उठाउन, घरमा थन्क्याउन त परको कुरा बढ्न, फल्न र पाक्न समेत नपाउँदै मुख्यगरी बाँदरले नष्ट गरिदिने, खाइदिने यतिमात्र नभई घर दलानमा लगाएको मकैको थाक्राबाट झिकेर खाइदिने, घरभित्र पकाएर राखिएको भातको भाडा बोकेर लगिदिने, घरपालुवा चौपायामाथि करणी गर्ने, वृद्ध अशक्त एवम् बालबालिकालाई भौतिक आक्रमण समेत गर्ने जस्ता घटनाले सम्पूर्ण किसानहरू आतंकित बन्नु परेको छ’, बाँदरले दिएको दु:ख विज्ञप्तिमा उल्लेख छ ।

माओवादीले ज्ञापनपत्रमार्फत प्रधानमन्त्री, गृहमन्त्री र कृषिमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

यसअघि गत माघ १८ गते किसानले बाँदरका कारण पाएको दु:खबारे सदनमा पनि कुरा उठेको थियो । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै एमाले सांसद ईश्वरी रिजाल र कांग्रेस सांसद चन्द्र भण्डारीले सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसद रिजालले दोलखामा बाँदरको प्रकोपका कारण मानिसहरू खेती छाडेर बसाइँ सर्नुपरेको बताए । रिजालले भने ‘हामी कृषिमा आत्मनिर्भर हुने कुरा गर्छौं तर बाँदरले उठीबास लाएको छ, ने अब एउटा अध्ययन टोली बनाइयोस् र संविधानको भाग ३ को ३६ खाद्य अधिकारको सुरक्षाको निम्ति बाली बीमाको सुनिश्चितता गरियोस् ।’

अर्का सांसद कांग्रेसका चन्द्र भण्डारीले ऋण, सिँचाइ, मलबीउको अभावबाट पिल्सिएका किसान बनेका बाँदरको कारण अप्ठेरोमा परेको बताएका थिए ।

‘ग्रामीण भेगमा एउटी बूढीआमा कसौँडीमा भात पकाउँछिन् त्यो पनि बाँदरले लुटेर लगिदिन्छ । यो अवस्था छ ग्रामीण किसानको ’, उनले भने, ‘त्यतिमात्र होइन यो बाँदर प्रवृत्ति राज्यका चारै अङ्गतिर फैलिएको छ । यसलाई सजकतापूर्वक कसरी रोकथाम गर्ने हो सरकारको ध्यान आकर्षण होस् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *