रुपन्देही । समुदायमा आधारित सरसफाइ तथा हरियाली अभियान सञ्चालन गरेर देशमै नमुना बनेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अब ‘नो हर्न नगरपालिका’ घोषणाको तयारी गरेको छ ।
आगामी चैत १ गते पूरा हुने अभियानको १ सय औं श्रृंखलालाई विशेष रुपले मनाउने तयारीसँगै तिलोत्तमालाई ‘नो हर्न नगर’ घोषणा गरिने भएको हो ।
तिलोत्तमाका मेयर रामकृष्ण खाणले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सचेतना, अन्तरक्रिया, टेलिभिजन बहस कार्यक्रम, विद्यालयस्तरीय वक्तृत्वकला तथा कला प्रदर्शनी प्रतियोगिता, नगरस्तरीय सरसफाइ र रक्तदान कार्यक्रमको तयारी गरिएको जानकारी दिए ।
यसैगरी फागुन २८ गते सामुदायिक र संस्थागत विद्यालय तथा कलेज परिसर र शौचालय सरसफाइ, २९ गते आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सहकार्यमा लक्षित समुदायलाई १ हजार थान कम्पोष्ट विन वितरण र ३० गते मानव साङ्लोसहित सिक्सलेन सडक सरसफाइ गरिने छ ।
श्रृङ्खलाको एकसयौं दिन चैत्र १ गते मूल समारोहसहित विशेष कार्यक्रम गरिने उपप्रमुख जागेश्वरदेवी चौधरीले बताइन् । मूल समारोहमा विभिन्न जातजाति तथा सांस्कृतिक झाँकी प्रदर्शन तथा अभियानमा सहभागी व्यक्तिहरुलाई सम्मान गरिने भएको छ । सोही दिन नै नगरमा कुहिने र नकुहिने फोहोर अलग-अलग उठाउने कार्यक्रमको सुरुवात गरिने कार्यकारी प्रमुख नारायण अर्यालले बताए ।
तिलोत्तमाका १९९ टोल विकास संस्थामार्फत हरियाली प्रवर्द्धन तथा सफाइ अभियान सञ्चालन गरिएको सयौं दिनको श्रृङ्खला मूल समारोह व्यवस्थापन समितिका संयोजक तथा कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जानकारी दिए ।
नगरमा हाल ४० जना सरसफाइकर्मीद्वारा फोहर संकलनको काम भैरहेको तथा १७ वटै वडामा फोहरमैला संकलन तथा व्यवस्थापन हुँदै आएको उनले बताए । तिलोत्तमामा हाल दैनिक २८ टन कुहिने तथा नकुहिने फोहर उत्सर्जन हुँदै आएको छ । २०७४ साल साउन ६ गतेबाट सुरु भएको यो अभियानलाई १९९ टोल विकास संस्थामा पुर्याइएको छ ।
स्थानीयले तिलोत्तमाको सरसफाइ अभियान नमुना भए पनि छिमेकी पालिकासँग समन्वय नभएको र पहिले सुरुवात गर्दाको ऊर्जा टोल विकासहरुमा कमी देखिएकाले जनप्रतिनिधिले सजगता अपनाउन सुझाव दिएका छन् ।

Leave a Reply