भृकुटीमण्डपमा ‘वृहत् जुत्ता चप्पल व्यापार मेला’, के-के छन् आकर्षण ?

काठमाडौं । नेपालका प्रतिष्ठित जुत्ता चप्पल कम्पनीहरूको सहभागितामा काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा ‘वृहत् जुत्ता चप्पल व्यापार मेला’ सुरु भएको छ ।

उक्त मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, रन सुज, हिमानी सुज र बाम्बो ब्राण्डको सहभागिता रहेको छ ।

ब्राण्डेड र बलियो जुत्ता चप्पल विशेष छुटसहित सस्तो मूल्यमा ग्राहकलाई उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको आयोजक तथा रन शुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले नेपाल प्रेसलाई जानकारी गराए ।

‘हामीले ग्राहकको भावनालाई राम्रोसँग बुझेका छौँ,’ उनले भने, ‘एक थलोमा धेरै ब्राण्डका जुत्ताहरू ग्राहकले आफ्नो आवश्यकता अनुसार रोजी रोजी खरिद गर्ने अवसर हामीले प्रदान गरेका छौँ ।’

मेलामा ग्राहकले माथि उल्लेखित नेपालका ख्याति प्राप्त ब्राण्डका जुत्ता चप्पल खरिद गर्दा १० देखि ५० प्रतिशतसम्म छुट तथा वारेन्टीको समेत पाउने बताइएको छ ।

आयोजकका अनुसार हाल जारी मेलामा सम्पूर्ण ब्राण्डका ‘एक्स्क्लुसिभ’ डिजाइनका जुत्ता चप्पलहरूलाई विशेष प्राथमिकता दिइएको कारण अन्य समयमा आयोजना हुने मेला भन्दा यो मेला विशेष रहेको आयोजक भनाई छ ।

‘ग्राहकहरूमा जुत्ता चप्पलको सन्दर्भमा नेपालमै विश्वस्तरीय तथा गुणस्तरीय सामानको उत्पादन हुन्छ भन्ने भरोसा जगाउन पनि यस मेलाले गहनतम भूमिका निर्वाह गर्ने छ भन्नेमा हामी विश्वस्त छौँ ।’ आयोजक रुद्र न्यौपानेले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *