नेपाली सेनाका उपरथी शाहीलाई बर्खास्त गर्ने सैनिक अदालतको फैसला

काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाही सेवाबाट बर्खास्त भएका छन् ।

सैनिक अदालतले शाहीलाई आर्थिक अनुशासन विपरीत आचरण गरेको आरोपमा दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गर्ने सजाय सुनाएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

कोर्ट अफ इन्क्वाइरीपछि सैनिक मुख्यालयले उपरथी ताराध्वज पाण्डेको अध्यक्षतामा सैनिक अदालत गठन गरेको थियो । यो मुद्दामा जोडिएका अन्य महासेनानी महेन्द्रजङ्ग शाह र प्रमुख सेनानी कुलदिप तिमसिनालाई सामान्य कारबाही हुने फैसला भएको सैनिक मुख्यालयले जनाएको छ ।

नेपाली सेनाले आर्थिक अनियमितताको आरोप भनेपनि महासेनानी शाह र प्रमुख सेनानी तिमसिनालाई सैनिक मुख्यालय हाजिर हुने दिएको लिखित निर्देशनमा उनीहरु सैनिक विद्रोहमा संलग्न रहेको उल्लेख छ ।

‘शाह र तिमसिनालाई सामान्य कारबाही भन्ने छ। तर के हो भन्ने बुझ्न बाँकी छ’, प्रवक्ता भण्डारीले भने। यसअघि अवकाशमा जानुभन्दा दुई साताअघि विदामा बसेका उपरथी शाही आफ्नो सेवा अवधि अझै एक वर्ष बाँकी रहेको भन्दै सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि उनी कार्यालय हाजिर हुन पुगेपनि सैनिक मुख्यालयले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । सैनिक प्रवक्ता भण्डारीका अनुसार शाहीलाई भविष्यमा सरकारी सेवामा अयाेग्य नठहरिने गरी बर्खास्त गर्ने फैसला भएकाे छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *