काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक घटनाक्रमका कारण शीर्ष तहमा समझदारी बन्न नसक्दा एमालेसँगको सत्ता सहकार्य टुंगिएको बताएका छन् ।
सरकारबाट फिर्ता भएको निर्णयसहित राजीनामा बुझाउन गएका एमालेका मन्त्रीहरुसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले एमालेका मन्त्रीहरुसँग काम गर्न कुनै समस्या नरहेको बताएका हुन् ।
प्रचण्डले भने- पछिल्लो समयको राजनीतिक घटनाक्रममा नेताहरुको बीचमा समझदारी बन्न सकेन,यो स्थिति सिर्जना भयो । तपाईहरुसँग काम गर्न अप्ठ्यारो होइन, नेतृत्वसँग समझदारी बन्न सकेन ।
सरकारलाई दिएको समर्थनसमेत फिर्ता भएको जानकारी गराउँदै सो अवसरमा उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले पुस १० गतेको समझदारी कायम नहुँदा आफूहरु सरकारबाट बाहिरिएको बताए ।
भेटमा औपचारिक कुराकानीबाहेक पछिल्लो राजनीतिक घटनाक्रमहरुको बारेमा केही कुरा नभएको स्वास्थ्यमन्त्री पदम गिरीले बताए । रक्षामन्त्री हरि उप्रेती भने विरामी भएका कारण बालुवाटारमा उपस्थित थिएनन् ।
सो भेटमा प्रधानमन्त्रीले परराष्ट्रमन्त्री डा.विमला राई पौडेलतर्फ हेर्दैै, ‘तपाईलाई अपमान गर्न खोजेको होइन’ भन्दै प्रष्टिकरण दिएका थिए । उनले आफूलाई पनि विगतमा त्यस्तो भएको भन्दै मन्त्री जेनेभा गएका बेला यता सरकार छाड्ने मन्त्रीबाट हट्ने परिस्थिति सिर्जना होला भनेर आफूले रोकेको बताएका थिए ।
एमाले केन्द्रीय सचिवालयको बैठकले सरकारबाट हट्ने निर्णय गरेपछि मन्त्रीहरु पार्टी निर्णयसहित राजीनामा बोकेर बालुवाटार पुगेका थिए । सरकारमा एमालेबाट उपप्रधानमन्त्री पौडेलसहित ८ मन्त्री थिए ।
जसमा पदम गिरी, दामोदर भण्डारी, विमला राई पौडेल, ज्वाला कुमारी साह, भगवति चौधरी, राजेन्द्र राई र हरि उप्रेती छन् ।

Leave a Reply